बाजुरामा वडाबाटै राष्ट्रिय परीचय पत्रको विवरण संकलन गरिने
धनगढीः बाजुरामा राष्ट्रिय परिचय पत्र अव स्थानिय तहबाट संकलन हुने भएको छ। यस अघि राष्ट्रिय परिचय पत्र बनाउँन जिल्लाप्रशासन कार्यलय जानुपर्ने बाध्यता थियो। नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागले वडाबाटै संकलन हुने जनाएको हो।
बिहिबार जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम मार्फत स्थानिय तहबाट संकलन हुने प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन। ३ महिना सम्म संचालन हुने अभियानमा प्रत्येक स्थानिय तहका सबै वडाहरुमा राष्ट्रिय परीचय पत्र विवरण संकलन हुने प्रमुख जिल्ला अधिकारी खड्काले बताए। नागरिकता प्राप्त गरेका सबै नागरिकहरुले अव वडामै राष्ट्रिय परीचय पत्रको फारम भर्ने गरी तयारी भएको प्रजिअ खड्काले जानकारी दिए।
नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागको आयोजनामा संचालन गरिएको एक दिने जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको अध्यक्षतामा संचालन गरिएको थियो। अन्तरक्रिया कार्यक्रमको सहजीकरण नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागका शाखा अधिकृत भिष्मराज अर्याल र कम्पुटर इन्जीनियर असल भट्टराईले गरेका थिए।
कार्यक्रममा जिल्लाका नौ ओटै स्थानिय तहका जनप्रतिधि, राजनितीक दलका प्रतिनिधी, सबै स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरु र वडा अध्यक्षहरुको सहभागीता रहेको थियो।