नेपाल आज कतारसँग खेल्द
काठमाडौं: एसीसी प्रिमियर कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा आज बिहिबार कतारसँग खेल्दै छ। समूह ’ए’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेल टियु मैदानमा बिहान नौ बजेबाट खेल्नेछ। समूह ’ए’ बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागि सकेको अवस्थामा यो खेल पछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ।
यस समूहबाट नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ एक खेल अगाबै सेमिफाइनलमा पुगेको थियो। ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो। नेपाललाई समूह विजेता बन्न आज हुने अन्तिम खेलमा जित आवश्यक पर्दछ।
नेपाल विजयी हुँदा ७ अंकका साथ समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ। वर्षा वा कुनै कारण खेलमा अंक बाँडेमा पनि नेपाल समूह विजेता बन्नेछ। अंक बाँड्दा नेपाल र ओमान दुबैको समान ६ अंक हुनेछ। नेपाल रनरेटमा अघि रहेर समूह विजेता बन्नेछ। तर, अन्तिम खेलमा नेपाल पराजित भएमा उपविजेताको रुपमा सेमिफाइनल खेल्नेछ।
१० राष्ट्र सहभागी प्रतियोगितामा पाँच पाँच राष्ट्रको दुई समूह रहेको छ। हरेक समहका दुई राष्ट्रले शनिबार हुने सेमिफाइनल खेल्नेछन्। समूह ’ए’ को विजेता र समूह ’बी’ का उपविजेता तथा समूह बी को विजेता तथा समूह ए को उपविजेता बीच सेमिफाइनल खेल हुनेछ।
दुई सेमिफाइनलका विजेताबीच सोमबार फाइनल खेल रहेको छ। फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ। एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ। यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन्।