सुदूरपश्चिममा साढे ९ सय मुक्त कमैयाको पुनःस्थापना हुन बाँकी
धनगढी : कैलालीको गौरीगंगा नगरपालिका १० की माया चौधरीको परिवार मुक्त कमैया हो। मुक्त कमैया भएपनि उनको परिवारको पुनः स्थापना भएन। सरकारी तथ्याँकमा उनको परिवार छुटेको छ। मुक्त भएको समयमा नागरिकता समेत नभएकाले उनीहरुको परिवार मुक्त कमैयाको सूचीमा समावेश नभएको हो। उनले भनिन्, ‘हामी मुक्त कमैया हो। तर नाम छुटेको छ। के कारणले छुट्यो ? हामीलाई के गर्नुपर्छ जानकारी भएन्। हामी छुटेका छौ। हामी जहाँ बसेका छौ, त्यही ठाउँमा जग्गा दिनुपर्यो। नाम पनि समावेश गरिनु पर्यो।’
सुदूरपश्चिम प्रदेशका १२ हजार नौ सय २४ मुक्त कमैयाका परिवारको पुनः स्थापना गरिएको छ। सुदूरपश्चिममा नौ सय ५३ मुक्त मयैयाको परिवारको पुनः स्थापना हुन बाँकी छ।
कैलाली र कञ्चनपुरका नौ सय २५ परिवारको जग्गा सट्टा भर्ना भएको छैन। कैलालीमा मात्र एक सय ७३ परिवारको पचियप पत्र बदर भएको छ। उनीहरुकोसमेत पुनः स्थापना भएन्। जिल्लामा तीन सय ८० परिवार परिचय पत्र भएपनि पुनः स्थापनाबाट बञ्चित भएका छन्। २०५७ सालमा मुक्त भएका उनीहरु सबैको परिवार अझै पुनः स्थापना नभएको हो। मिनादेवी कठरीयाले २०५७ सालमा नागरिकता नभएकाले नाम समावेश नभएको बताइन्। श्रीमान परिचय पत्रबाट छुटेका उनले बताइन्। उनले भनिन्, ‘हाम्रो पुनःस्थापना भएको छैन। राज्यले हामीलाई परिचय पत्रको व्यवस्था गर्नुपर्छ। पीडामा छौ। जुन ठाउँमा बसोबास गरेका छौ, सोही ठाउँको लालपुर्जा बनाउनु पर्छ।’
कैलाली–कञ्चनपुरमा दुई हजार तीन सय ५० कमलरी परिचय पत्रसमेत पाएका छैनन्। सुदूरपश्चिममा पाँच हजार दुई सय ४१ कमलरी रहेकोमा एक हजार सात सय ३५ को नाम छुटेको छ। उनीहरुको १३ वर्षदेखि सरकारले नामसमेत समावेश गर्न नसकेको हो। सरकारले मुक्त कमैया, मुक्त कमलरी र बुक्रहीको मागहरु सम्बोधन नगरेको भन्दै उनीहरुले संघर्षका कार्यक्रम गर्दै आएका छन्। वैशाख १४ गतेदेखि १७ गतेसम्म कैलाली र कञ्चनपुरका साइकल यात्रासहित कोण सभाका कार्यक्रमहरु तय गरिएका छन्। मुक्त कमैया समाज कैलालीका अध्यक्ष भरतलाल डगौराले संघर्षका कार्यक्रम सार्वजनिक गरिएको बताए। उनले सरकारले मुक्त कमैया, मुक्त कमलरीलाई बेवास्ता गरेको बताए।
सरकारले जग्गाधनी पुर्जा दिएकाहरुले पनि जमिन नपाएको गुनासो गरिएको छ। नेपाल सरकारले पुनः स्थापना गर्ने भन्दै जंगल, नदी किनारको जग्गा वितरण गरेकाले उनीहरु समस्यामा परेका हुन्।
सुदूरपश्चिम प्रदेशमा नौ सय ५३ मुक्त कमैयाको पुनः स्थापना हुन बाँकी रहेको छ। नेपालमा कमैया मुक्तीको २३ वर्ष हुन लाग्दा पनि सबैको पुनः स्थापना नभएको हो। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा रहेका मुक्त कमैया, मुक्त कमलरीको पुनः स्थापनका लागि सरकारले बेवास्ता गरेको हो। नेपाल सरकारले पुनः स्थापना गरेको भनिएकाहरुले जमिन पाएका छैनन् भने मुक्त भएका कमलरीहरुको पूर्ण तथ्याँक समेत सरकारसँग छैन। नेपाल सरकारले नै उनीहरु बिचमा नै बिभेद गरेको छ। मुक्त कमैया, मुक्त कमलरी र बुक्रहीहरुले अझै पनि न्यायका लागि भन्दै संघर्ष गर्दै आएका छन्।