सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय क्रिकेट प्रतियोगिताः मधेश र गण्डकी प्रदेशको जित

२०८० वैशाख १२, ०७:३० खबर संवाददाता

धनगढीः मधेश प्रदेश र गण्डकी प्रदेशले कैलालीको धनगढीमा जारी एनआईएमबी सुदुरपश्चिम मुख्यमन्त्री १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हात पारेका छन्। 

आज भएका खेलमा जित हात पार्दै मधेशले लगातार दोस्रो जित हात पारेको हो भने गण्डकीले पहिलो जित दर्ता गरेको हो। फाप्ला मैदानमा आज भएको पहिलो खेलमा मधेशले कर्णालीलाई ४९ रनले हरायो भने दोस्रो खेलमा गण्डकीले कोसी प्रदेशलाई १२ रनले हरायो। 

आज भएको पहिलो खेलमा मधेशले पहिले ब्याटिङ गर्दै सबै विकेट क्षतिमा १२५ रन बनायो। उसका लागि राहन शाहले ३९ रन र चन्दन रायले २७ रन बनाए। कर्णालीका लागि विपिन शर्माले ३ विकेट तथा लक्की बम र दीप पौडेलले दुई दुई विकेट लिए। प्रतिउत्तरमा कर्णाली प्रदेशले निर्धारित ओभरमा ९ विकेट क्षतिमा ७६  रन मात्रै बनाउन सक्यो। उसका लागि दिपेश रावतले १५ र रोशन शाहीले १३ रन बनाए। मधेशका लागि पप्पु यादवले ३ विकेट र रोहन शाहले दुई विकेट लिए। खेलमा दुई विकेट लिएर ३९ रन बनाएका मधेश प्रदेशका राहन शाह प्लेयर अफ द म्याच भए । उनले नगद दुई हजार प्राप्त गरे। 

आजकै दोस्रो खेलमा गण्डकीले पहिले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १६२ रन बनायो। गण्डकीका लागि रोहित कुँवरले ५१ रनको अर्धशतकीय पारी खेले। रोहित चन्दले ३७ रन बनाए। कोसीका लागि प्रतिक पोखरेल सौजन घिमिरेले तीन तीन विकेट र प्रेम कामतले दुई विकेट लिए। प्रतिउत्तरमा कोसीले निर्धारित ओभरमा ८ विकेट क्षतिमा १५० रन मात्रै बनाउन सक्यो । उसका लागि दिपु भुजेल र शिवांश बजगाईले समान ३५/३५ रन बनाए भने सौजन घिमिरेले २३ रन जोडे। गण्डकीका लागि सिब्रिन श्रेष्ठले ४ विकेट र अश्विन थापाले दुई विकेट लिए। चार विकेट लिएका गण्डकीका सिब्रिन श्रेष्ठ खेलको प्लेयर अफ द म्याच भए। उनले नगद दुई हजार प्राप्त गरे। 

प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछन्। पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेश तथा दोस्रो खेलमा कोसी प्रदेश र बागमति प्रदेश प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन्। त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन्। 

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो। एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ। 

कमेन्ट लोड गर्नुस