धनगढीमा ‘कलस्टर’अनुसार गौशाला निर्माण हुँदै, अब नयाँ प्रविधिमा व्यवस्थापन
धनगढीः धनगढीमा डेढ करोड खर्चेर दुईवटा गौशला निर्माण गरिदैँ छ। पशुचौपाया व्यवस्थापनका लागि गौशला निर्माणको काम भइरहेको छ। धनगढी उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट गौशाला निर्माणको काम भइरहेको छ।
उपमहानगरपालिकाको वडा नम्बर १६ र वडा नम्बर १८ मा निर्माण सुरु भएका गौशालाको ३० प्रतिशत काम पूरा भएको छ। जेठ दोस्रो हप्तासम्म गौशाला निर्माणको काम पुरा हुनेछ। उपमहानगरपालिकाले थप दुईवटा गौशाला निर्माणका लागि प्रक्रिया थालेको छ। सामुदायिक पशुका कारण दुर्घटना हुने र किसानको खेतीबारीमा नोक्सानी हुन थालेपछि उपमहानगरपालिकाले व्यवस्थापन गर्न थालेको हो।
कलस्टर (क्षेत्र) अनुसार व्यवस्थित गौशाला निर्माण गर्न सुरु गरिएको छ। धनगढीमा वडा नम्बर १६ र वडा नम्बर १८ मा गौशाला निर्माणको ३० प्रतिशत काम पूरा भएको उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले बताए। उनले गौशालाका भवनहरुका जगको काम पूरा भएको बताए। उनले भने, ‘सामुदायिक छाडा चौपायाको व्यवस्थापनका लागि गौशाला निर्माण गर्दै जाने कार्यक्रम छ।
अहिले कलस्टर अनुसार चारवटा गौशाला निर्माण गर्ने योजना छ। अहिले वडा नम्बर १६ र १८ मा काम सुरु भएको छ। वडा नम्बर ३ मा एक गौशाला निर्माण गरिएको छ। दक्षिण र उत्तर क्षेत्रमा गौशाला निर्माणका लागि जग्गाको व्यवस्था भएको छैन्।’ उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट गौशाला निर्माण थालेको हो। ५०/५० लाखको लागतमा गौशाला र ३० लाखको लागतमा पशुको आहाराका लागि घर निर्माण थालिएको छ।
उपमहानगरपालिले एक सय ५० सामुदायिक पशुको एक गौशालामा व्यवस्थापन गर्ने छ। गौशाला सञ्चालनका लागि उपमहानगरपालिकाले संस्थाहरुसँग सम्झौता गर्नेछ। धनगढीका अन्य दुई स्थानमा पनि उपमहानगरपालिकाले गौशाला निर्माण गर्नेछ। तर जग्गाको अभाव भएको उपमहानगरपालिकाले बताएको छ। नगरप्रमख गोपाल हमालले एक गौशालामा एक सय ५० चौपायाको व्यवस्थापन गर्न सकिने बताए।
भारतको कानपुरको प्रविधि अनुसार पशुको व्यवस्थापन गर्न थालिएको हमालले बताए। उनले भने, ‘चार वटा कलस्टर विभाजन गरेका छौ। कलस्टर अनुसार काम गर्दैछौ। केही ठाउँमा जग्गा नभएर समस्या छ।’ धनगढीको वडा नम्बर ३ एक संस्था र वडा नम्बर ७ मा उपमहानगरपालिकाले सञ्चालन गर्र्दै आएको छ। वडा नम्बर ७ को गौशाला देवरीया वनस्पती उद्यानमा छ।
जग्गाको भोगाधिकार नलिएकाले वडा नम्बर ७ को गौशाला विवादीत छ। धनगढी उपमहानगरपालिकाले कलस्टर अनुसार थप गौशाला निर्माण गर्दै छ। वडा नम्बर ६, ११ र १३ का लागि एक, वडा नम्बर ९, १० र १२ का लागि अर्काे गौशाला निर्माण गर्ने योजना बनाएको छ। धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर भट्टले दुबै गौशालाको व्यवस्थापन स्थानीय वा संस्थाहरुले सञ्चालन गर्ने बताए। उनले वडा नम्बर १६ को गौशाला सञ्चालनका लागि एक संस्थासँग सम्झौता गरिएको भट्टले बताए।