यी हुन् कक्षा ८ को परीक्षामा १ जना विद्यार्थी मात्रै पास हुने विद्यालयहरू
धनगढीः धनगढी उपमहानगरको शैक्षिक सत्र २०७९ को आधारभूत तह (कक्षा ८) को परीक्षामा शून्य नतिजा प्राप्त गर्ने विद्यालयको संख्या १८ रहेको छ। जसमध्ये १७ सामुदायिक र एक संस्थागत विद्यालय परेका छन्। तर, केबल १ जना विद्यार्थी पास हुने विद्यालयको संख्या भने १३ रहेको छ। जसमध्ये ९ विद्यालय सामुदायिक छन् भने ४ वटा विद्यालयर संस्थागत अर्थात् निजी हुन्।
१ जना पास हुने सामुदायिक विद्यालयहरू
धनगढी-२ मोहनाको नवदुर्गा माध्यमिक विद्यालय, धनगढी-११ घोडसुवाको ठेकराज माध्यमिक विद्यालय, वडा नम्बर-९ गौरीपुरको भवानी माध्यमिक विद्यालय, वडा नम्बर १६ घसिटाको वेहडाबाबा माध्यमिक विद्यालयमा १ जना विद्यार्थी मात्रै कक्षा ८ को परीक्षामा उत्तीर्ण भएको पाइएको छ। जबकि,नवदुर्गाबाट परीक्षा दिने ५१ जना, ठेकराजबाट ८१, भवानी माविबाट ८५, बेहडाबाबाबाट ६६ जना परीक्षामा सम्मिलित भएको तथ्याङ्कले देखाएको छ।
यस्तै, वडा नम्बर-१४ 'डी' गाउँको जनजागृती माध्यमिक विद्यालयबाट ४० जनाले परीक्षा दिएकोमा १ जना मात्रै उत्तीर्ण हुन् सफल भएका छन्। वडा नम्बर- १९ को फूलबारी मानध्यमिक विद्यालयका ३४ जनामा ३३ र शंकरसरस्वती अन्नपूर्ण आधारभूत विद्यालयबाट २९ जनामा २८ जना परीक्षार्थी फेल भएका छन्। वडा नम्बर- ७ वेलीको राष्ट्रिय माध्यमिक विद्यालय र १५ नम्बर वडाको कनरीमा रहेको जनजागृती अधारभूत विद्यालय क्रमशः ४८ र २३ जना परीक्षार्थीमा १/१ जना मात्रै पास भएका छन्।
१ जना मात्रै पास हुने संस्थागत विद्यालयहरू
चटकपुरको व्रोड भिजन स्कुल, तारानगरको शारदा विद्या निकेतन, फूलबारीको फूलबारी अङ्ग्रेजी बोर्डिङ स्कुल, जुगेडा ए गाउँको सिद्धार्थ इन्टरन्यासनल स्कुलमा १/१ जना विद्यार्थी मात्रै पास भएका छन्।