आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उसुको खेलाडी छनौटमा प्रशिक्षकको एकलौटी
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको खेलाडी छनौटमा क्षेत्रिय खेलकुद विकास समितिले एकलौटी गरिरहेको आरोप लागेको छ। सुदूरपश्चिमबाट राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत उसुको खेलाडी छनौटमा क्षेत्रिय खेलकुद विकास समितिले एकलौटी गरेको आरोप लागेको हो। गत फागुनमा दाङमा भएको छनौट प्रतियोगितामा प्रथम हुदै उसुको ६० किलो तौल समूहमा छनौट भएका कैलालीका बालकृष्ण चौधरीले प्रतियोगिता नखेल्ने भएपछि प्रचलित नियम मिचेर आफू निकटका व्यक्तिलाई भर्ना गर्न खोजिएको दावी गरिएको छ।
चौधरी सशस्त्र प्रहरीमा भर्ना भएपछि दोस्रो भएका खेलाडी स्वतः खेल्न पाउने प्रावधानलाई कुल्चेर राष्ट्रिय खेलकुद प्रतियोगितामा आफू निकटका व्यक्ति भर्ना गर्न खोजेको दावी गरिएको हो। क्षेत्रिय छनौट प्रतियोगितामा उसुको ६० किलो तौल समुहमा दोस्रो भएका कञ्चनपुरका सुरेश गिरीले नियम मिच्दै पुनः प्रतिस्पर्धा गराएर आफू निकटका व्यक्ति छनौट गरेको आरोप लगाएका छन्।
गिरीले पहिलो हुने खेलाडीले खेल नखेलेमा दोस्रो हुने खेलाडीले अवसर पाउनुपर्ने भएपनि उसुका प्रशिक्षक रतन खातीले निमय मिच्दै आफू निकटका व्यक्तिलाई भर्ना गरेको आरोप लगाएका छन्। उनले आफूलाई वाईपास गर्दै खातीले आफ्ना विद्यार्थीलाई छनौट गरेको बताए। दोस्रो पटक धनगढीमा गत मंगलबार प्रतिस्पर्धा गराउदै प्रशिक्षक खातीले यसअघि दाङमा भएको ५२ केजी तौल समूहमा पराजीत भएका कैलालीका शिवराज सुतारी मगरलाई छनौट गरेको दावी गिरीको छ।
खातीले खेलाडी छनौटको अधिकारको दुरुपयोग गर्दै प्रशिक्षक खातीले एकलौटी गरिरहेको आरोप लागेको छ। तर प्रशिक्षक खातीले भने आफूले खेलाडी छनौटमा एकलौटी नगरेको दावी गरेका छन्। उनले यसअघि उसुको छनौट प्रतियोगितामा दोस्रो भइसकेका गिरी उसुको खेलाडी नै नभएको दावी गरिरहेका छन्। गिरी कराँतेको खेलाडी भएकाले राष्ट्रिय खेलकुदमा उसुकै खेलाडी छनौट गरिनुपर्ने जिकिर पनि खातीको रहेको छ।
यता क्षेत्रिय खेलकुद विकास समितिले भने, खेलाडी छनौटमा एकलौटी भएको भन्दै लागेको आरोपका विषयमा छलफल गर्ने बताएका छ। क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्लले आईतबार यस विषयमा छलफल गरेर अगाडी बढ्ने बताए।