सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षक नेताहरूले बुझाए नगरप्रमुखलाई ज्ञापनपत्र, सबै विषयमा ग्रेड वृद्धि परीक्षा हुनुपर्ने माग

२०८० वैशाख ६, ०८:०३ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरपालिकाले आइतवार आधारभूत तहको कक्षा ८ को नतिजा प्रकाशित गरेको थियो। प्रकाशित नतिजामा धनगढीका १७ सामुदायिक र एक संस्थागत विद्यालयलको नतिजा शून्य आएको थियो।

परीक्षामा सहभागी भएका ४६ सामुदायिक र ६० संस्थागत विद्यालयका ४ हजार ६ सय ३८ विद्यार्थी  मध्ये १ हजार ५ सय ३ अर्थात ३२ दशमलव ४१ प्रतिशतले मात्रै कक्षा ९ मा भर्ना हुने योग्यता हासिल गरेका छन्। सामुदायिक विद्यालयका ९ दशमलव १८ र संस्थागत विद्यालयका ६० दशमलव २४ प्रतिशत विद्यार्थीले कक्षा ८ को परीक्षा उत्तीर्ण गरेका छन्। अनुत्तीर्ण अर्थात दुई विषयमा ननग्रेड प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिने मौका पाउने छन् भने बाँकीले दोहर्‍याएर ८ कक्षा पढ्नुपर्ने छ।

तर, धनगढीका शिक्षक संगठनमा आवद्ध शिक्षक नेताहरूले उपमहानगरले विभिन्न कुराको नजरअन्दाज गरेर परीक्षाफल प्रकाशित गरेकाले मार्जिनल केशमा रहेका ननग्रेड प्राप्त सबै विषयमा ग्रेड वृद्धि परीक्षाको मौका दिन माग गरेका हुन्। बुधवार नगरप्रमुख गोपाल हमाललाई बुझाइएको ज्ञापनपत्र  पाँच वटा कैफियत औल्याइएको छ। नतिजा कमजोर आउनुमा शिक्षक तथा विद्यालयको कमजोरी बारे कुनै टिप्पणी गरिएको छैन।-

नगरप्रमुख गोपाल हमाललाई बुझाइएको ज्ञापनपत्रमा अहिले कक्षा ८ को परीक्षा दिएका विद्यार्थीले कोभिड १९ को दुबै लहरका कारण प्रत्यक्ष पठनपाठन कक्षा नलिई अढाई वर्ष आन्तरिक मूल्याङ्कन गरी कक्षोन्नती भएर ८ कक्षामा पुगेका, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले मंसिरसम्म पाठ्यपुस्तक नपाएकाले परीक्षामा राम्रो प्रदर्शन गर्न नसकेको तर्क गरिएको छ।

यस्तै, परीक्षा समितिमा परीक्षा सञ्चालन, मूल्याङ्कन र नतिजा प्रमाणीकरणको सम्बन्धमा समिक्षा हुन नसकेको, प्रश्नपत्र निर्माण, उत्तर पुस्तिका परीक्षण, समपरीक्षण एवं टेबुलेसन र प्रमाणीकरण कार्यमा त्रुटि रहेको र सामान्य अङ्कलाई मार्जिनल केसको रुपमा लिई नतिजा पुनर्योग गर्नुपर्ने अवस्था रहेको जस्ता कमजोरी औल्याएका छन्।

शिक्षकहरूले मार्जिनल केसमा रहेका ननग्रेड प्राप्त सबै विषयमा ग्रेड वृद्धि परीक्षाको मौका परीक्षा सञ्चालन गर्न शिक्षा युवा तथा खेलकुद महाशाखाबाट विद्यालयहरूलाई  प्रश्नपत्र उपलब्ध गराई   महाशाखाबाट नै सुपरीवेक्षण गरि नतिजा प्रमाणीकरण गराई विद्यार्थीको कक्षोन्नती हुने मौका सुनिश्चित गर्न माग गरिएको छ।

नगरप्रमुख हमाललाई बुझाइएको ज्ञापनपत्रमा नेपाल शिक्षक संघका नगर अध्यक्ष मोहन भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष  शान्ति चन्द पाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष मोहनलाल चौधरी, एनप्याब्सनका प्रदेश सदस्य टिएन ढकाल, प्याब्सनका प्रदेश अध्यक्ष ललितराज पन्त, प्याब्सन कैलालीका कैलाली अध्यक्ष टोपेन्द्र शाह, प्याब्सनका नगर अध्यक्ष नरेन्द्रबहादुर सिंह, प्याब्सनका केन्द्रीय सदस्य सिबी चन्द, पूर्व केन्द्रीय सदस्य सिताराम बुढाथोकी, एनप्याब्सनका नगर सचिव रमेश बिक र नेपाल शिक्षक महासंघका नगर सचिव तिर्थराज फुलाराले हस्ताक्षर गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस