दार्चुलामा भर्ना भएकै दिन विद्यार्थीको हातहातमा पुस्तक
दार्चुलाः विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ। यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन्। शैक्षिक सत्रको शुरूआतमै भर्ना भएसँगै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा खुशी लागेको शैल्यशिखर नगरपालिका–६ को मालिकार्जुन माध्यमिक विद्यालय मिलमिलीका छात्रा निशा धामीले बताइन्।
गत वर्ष शैक्षिक सत्रको अन्तिमसम्म पुस्तक नपाएको भन्दै यहाँका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका थिए। विद्यालयमा भर्ना हुने समयमा विद्यार्थीको हातमा पुस्तक दिन पाउँदा आफू पनि निकै खुशी भएको विद्यालयका निमित्त प्रधानाध्यापक रामसिंह धामीले बताए।
विद्यालयमा दुई सय ५० विद्यार्थी अध्यनरत छन्। मंगलबार मात्रै विद्यालयमा भर्ना भएका एक सय ५० विद्यार्थीलाई पुस्तक वितरण गरिएको धामीले बताए। त्यस्तै शैल्यशिखर नगरपालिकाको–६ मा रहेको शैल्यशिखर आधारभूत विद्यालय दुई सय ४० विद्यार्थी अध्ययनरत छन्। भर्नासँगै पुस्तक वितरण हुने भएपछि विद्यार्थी भर्ना सङ्ख्या बढेको विद्यालयका प्रधानाध्यापक शारदा धामीले बताइन्।