सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सुत्केरी मृत्युदर भयावह, प्रतिलाख जीवित जन्ममा १३० मृत्युदर

२०८० वैशाख ५, १२:५४ खबर संवाददाता

धनगढीः २०७६ भदौमा बाजुरामा एक सुत्केरी महिलाको मृत्यु भयो। जिल्लाको मार्तडीस्थित जिल्ला अस्पतालमा बडीमालिका नगरपालिका–७ की २१ वर्षीया वसन्ती नेपालीको मृत्यु भयो। समयमा अस्पताल पु¥याउन नसकिएपछि उनले ज्यान गुमाउनु परेको थियो। त्यस्तै बाजुराकै बुढीगंगा नगरपालिका–२ बजेडीकी १७ वर्षीया सुत्केरी लक्ष्मी लुहारको फागुन अन्तिम साता मृत्यु भयो।

स्वास्थ्य कार्यालय बाजुराका अनुसार घरमा दुई वटा शिशु जन्माएकी लक्ष्मीको स्वास्थ्यमा समस्या देखिएपछि अछामको बयलपाटा अस्पतालमा लिदै गर्दा बाटोमा मृत्यु भएको हो। अत्याधिक रक्तस्रावका कारणले लक्ष्मीको बाटोमै ज्यान गुमाउनु प¥यो। तीन महिना अघि मात्र बुढीगंगा नगरपालिका–६ की नितु जैशीको पनि रत्तस्रापका कारण मुत्यु भएको थियो।

त्यस्तै एक साताअघि नै सुत्केरी मिति तोकिए पनि कैलालीको गोदावरीकी २८ वर्षीया लक्ष्मी भट्टराईलाई चैत २६ गते बिहान मालाखेती अस्पताल पु¥याइयो। बेथा लाग्ने औषधि दिइएपछि भोलिपल्ट बिहानैदेखि उनलाई ज्वरो आउने, सास फेर्न गाह्रो हुने समस्या देखियो। बच्चा जन्मिए पनि बचाउन सकिएन, लक्ष्मीको पनि केहीबेरमै मृत्यु भयो।

अस्पतालको लापरबाहीले आमा र बच्चा गुमाउनुपरेको भन्दै आफन्त र स्थानीयले सेवा ठप्प पारे। अत्तरिया क्षेत्रमा सडक अवरुद्ध पारे। अस्पताल प्रमुख डाक्टर अन्वेश कोइरालाले गर्भवतीको सबै अवस्था सामान्य रहेकै अवस्थामा बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताएका छन्। यी त केबल प्रतिनिधि उदाहरण मात्र हुन्। यस्ता धेरै घटना सहरी क्षेत्रभन्दा ग्रामिण भेगमा हुँदै आएका छन्।

२०७८ को जनगणनामा मातृ मृत्युदर घटेर औसत सुधार देखिए पनि ग्रामीण भेगको अवस्थामा भने अझै सुधार आउन सकेको छैन्। सुदूरपश्चिममा प्रतिलाख जीवित जन्ममा मातृ मृत्युदर १३० रहेको छ। मातृ मृत्युदर सहरी क्षेत्रमा घटे पनि ग्रामीण भेगमा जोखिम कायम रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। बालविवाह र किशोरावस्थामै आमा बन्ने, बच्चा जन्माउने क्रममा जटिलता आउने, समयमा उपचार नपाउने लगायत कारण मातृ मृत्युदरको जोखिम कायमै छ। साथै गर्भ जाँचमा सहज पहँुच नहुँदा सुदूर पहाडका विकट ग्रामीण क्षेत्रका महिलाले अकालमै ज्यान गुमाउनु परिरहेको छ।

कमेन्ट लोड गर्नुस