एसीसी प्रिमियर लिग आजबाटः उद्घाटनमा नेपाल र मलेशिया भिड्ने
काठमाडौंः एसीसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलमा १० टोली सहभागी रहने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। उद्घाटन खेलमा नेपालले मलेशियासँग प्रतिस्पर्धा गर्ने भएको छ।
यी दुई टोलीको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुने क्यानले जनाएको छ। मूलपानी खेल मैदानमा हुने सबै खेल निःशुल्क हेर्न पाइने भए पनि त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि क्यानले टिकटको मूल्य २०० रूपैयाँ निर्धारण गरेको छ।
समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। नेपालले तीन खेल त्रिवि क्रिकेट मैदानमा खेल्दा एउटा खेल मूलपानी क्रिकेट मैदानमा खेल्नेछ। उपाधि विजेताले एशिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।