धनगढीमा कक्षा ८ को परीक्षामा कुन विषयमा कति विद्यार्थी फेल भए?
धनगढीः धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षामा मुख्य विषयमा ननग्रेड ल्याउनेको संख्या बढी छ। उपमहानगरभित्र सञ्चालित १ सय ६ विद्यालयमा अध्ययन गर्ने ४ हजार ५ सय ३३ विद्यार्थीमा गणित विषयमा सबैभन्दा बढी २ हजार ३ सय ४१ ले ननग्रेड प्राप्त गरेका छन्।
समग्रमा ३३ प्रतिशत विद्यार्थी कक्षा ९ मा भर्ना हुन योग्य रहेकोमा सामुदायिक विद्यालयबाट भने केबल ९ प्रतिशत विद्यार्थीले मात्रै कक्षा ९ मा भर्ना हुन आवश्यक पर्ने ग्रेड प्राप्त गरेका छन्। उपमहानगरपालिकाबाट प्राप्त विवरणअनुसार गणितपछि अङ्ग्रेजीमा बढी विद्यार्थीले ननग्रेड ल्याएका छन्। अङ्ग्रेजीमा १ हजार ६ सय ४ जनाको ननग्रेड आएको छ। यस्तै, नेपालीमा १ हजार ६ सय २ जना, सामाजिकमा १ हजार ८ सय ३२ जना, स्वास्थ्य तथा शारीरिक शिक्षामा १ हजार १ सय ३२ जना, नैतिक शिक्षामा ४ सय ६८ जना, कम्प्युटरमा २ हजार १ सय ४ जना र पेशा व्यवसायमा १ हजार ६ सय विद्यार्थीको ननग्रेड आएको छ।
परीक्षा नतिजामा पुनर्विचार गर्न आग्रह
धनगढीका विभिन्न विद्यालयका प्रधानाध्यापक र सञ्चालकहरूले कक्षा ८ को परीक्षाको नतिजामा पुनर्विचार गर्न आग्रह गरेका छन्। उनीहरूले उपमहानगरपालिकाले परीक्षाको नतिजाका कारण विद्यार्थीले विद्यालय छोड्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। अन्य कक्षामा उदार कक्षोन्नति गर्ने तर कक्षा ८ मा एक्कासी परीक्षामा कडाई गरिँदा विद्यार्थी पढाइबाटै विमुख हुने अवस्था आउने चिन्ता गरेका छन्।
तर, नगरप्रमुख गोपाल हमालले भने नियमसँगत परीक्षा गरिएकाले के-के कुरामा कस्तो नीति अपनाउनुपर्ने हो भन्ने लिखित रुपमै पेस गर्न आग्रह गरेका छन्। उनले विद्यालयको पढाइको स्तर राम्रो बनाउन उपमहानगरले गर्नुपर्ने काम गर्न तयार रहेको बताएका छन्।
किन भए यति धेरै विद्यार्थी फेल?
धनगढीका विद्यालयहरूको कक्षा ८ को नतिजाले सबैको मनमा कौतुहलता र प्रश्न उब्जाएको छ। सबै सामुदायिक र नीजि विद्यालयका विद्यार्थीहरू मूल विषयदेखि सामान्य विषयमा पनि फेल भएका छन्। एकजना सामुदायिक विद्यालयका अध्यापन गराउने शिक्षकले कक्षा ८ को नतिजा वास्तविक नतिजा भएको टिप्पणी गरेका छन्। उनले विद्यालयमा नपढाउने शिक्षक, नपढ्ने विद्यार्थी र उदासिन अभिभावकका कारण अहिलेको नतिजता आएको टिप्पणी गरेका छन्।
शिक्षकहरूले नपढाउने, पढाउने भन्दा राजनीतिमा लिप्त रहने, सरकारी विद्यालयमा पढ्ने र पढाउने वातावरण नभएकाले विद्यार्थीले ननग्रेड ल्याएको बताएका छन्। विद्यालयका शिक्षकहरूले भने पाठ्यपुस्तक समयमा नपाउनु, शिक्षकहरूको दरबन्दी अपुग हुनु, विषयगत शिक्षक नहुनु र उपमहानगरले प्रश्नपत्र निर्माण र चेकजाँचमा कडाई गरेकाले ठुलो संख्यामा विद्यार्थीको ननग्रेड आएको बताएका छन्।