सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएनएसडब्ल्यूए–द्वारा दोदा नदी प्रभावित समुदायमा खोज तथा उद्धार तालिम सुरू

२०८० वैशाख ३, ०७:१९ खबर संवाददाता

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए)–ले दोदा नदीबाट प्रभावित समुदायहरूका लागि खोज तथा उद्धारसम्बन्धी ४ दिने तालिमको शुभारम्भ गरेको छ।

मर्सिकोर नेपालसँगको साझेदारीमा एनएनएसडब्ल्यूए–द्वारा सञ्चालित आर्थिक विकासमार्फत् जोखिम व्यवस्थापन (एम–रेड) परियोजनाअन्तर्गत पुनर्वास नगरपालिकासँगको समन्वयमा दोदा नदि जलाधार क्षेत्रबाट प्रभावित समुदायहरूको लागि वैशाख ३ गतेदेखि ६ गतेसम्म ४ दिने आधारभूत खोज तथा उद्धारसम्बन्धी तालिमको सुरूवात गरिएको हो। ४ दिने तालिमको प्रशिक्षण लक्ष्मण दत्त भट्ट र दीपराज चटौतले गर्नेछन्।

एम–रेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले भविष्यमा हुन सक्ने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए। तालिमको उद्घाटन सत्रमा स्वागत मनतब्य राख्दै उनले भने,‘विपद्को पहिलो झटका सहन गर्ने रेस्पोन्डेन्टको रूपमा समूदाय रहन्छ। समुदाय स्तरमा गठित कार्यदलहरूको खोज तथा उद्धार गर्ने क्षमता अभिवृद्धि गर्न र भविष्यमा हुन सक्ने भौतिक तथा मानवीय क्षतिलाई न्यूनिकरण गर्न तालिमको आयोजना गरिएको हो।’

कार्यक्रमलाई सम्बोधन गर्दै पुनर्वास नगरपालिकाका नगर उप–प्रमुख भुलिया कुमारी रानाले प्राकृतिक विपद्हरूलाई रोकथाम गर्न नसके पनि पूर्वतयारीको माध्यमबाट विपद्को असरलाई कम गर्न सकिने बताइन्। उनले भनिन्,‘पुनर्वास नगरपालिकाले विगतको बाढीको अनुभवलाई आत्मसात गर्दै रबर बोट खरिद गरी पूर्वतयारीको काम सुरू गरिसकेको छ साथै, स्थानीय आपतकालिन केन्द्र सञ्चालनको तयारी गर्दै प्रविधिको प्रयोग गरेर पूर्वसूचना प्रणालीमार्फत मौसमको जानकारी सबैको पहुँचमा पुग्ने किसिमको सूचना संयन्त्रको निर्माण गर्ने तयारी गरेको छ।’

नगर उप–प्रमुख रानाले विपद् पूर्वतयारीका लागि सबै निकायहरू बीच पारस्परिक सहयोग र समन्वय हुन जरूरी रहेको बताउँदै, दोदा प्रभावित समुदायहरूका लागि यो तालिमको आयोजना गरेकोमा आयोजक एनएनएसडब्ल्यूए–लाई धन्यवाद ज्ञापन गरिन्। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए)–का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले विपद् जोखिम व्यवस्थापन कुनै एक पक्ष वा निकायको मात्र नभएर बहुपक्षीय सरोकारको विषय भएको बताए। उनले भने,‘विपद्को सामना गर्ने पहिलो वर्ग भनेकै स्थानीय समुदाय हो। स्थानीय समुदायलाई विपद् प्रति जागरूक बनाउन, विपद्सँग सम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपद्को घटना हुने बित्तिकै प्रतिकार्यका लागि परिचालित हुन समुदाय स्तरमा खोज तथा उद्धार कार्यदल गठन गरी खोज तथा उद्धार तालिमको आयोजना गरिएको हो।’

एम–रेड परियोजनाका मिल अफिसर गोविन्द नारायण उपाध्यायले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रको अध्यक्षता एनएनएसडब्ल्यूए–का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले गरेका थिए भने, प्रमुख अतिथिको रूपमा पुनर्वास नगरपालिकाका नगर उप–प्रमुख भुलिया कुमारी राना उपस्थित रहेकी थिइन्।

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक प्रेम सिंह धामी र पुनर्वास नगरपालिका वडा नम्बर– २ सदस्य इश्वर थापाको पनि उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस