कीर्तिगङ्गा हाफ म्याराथनको उपाधि रोहितलाई
धनगढीः कीर्तिगङ्गा इन्स्टच्युट अफ साइन्स एण्ड टेक्नोलोजी धनगढीद्वारा आयोजित हाफ म्याराथनको उपाधि कक्षा ११ का छात्र रोहित डगौराले जितेका छन्। कीर्तिगङ्गाको सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम अन्तर्गत शनिबार भएको हाफ म्याराथनमा डगौरा प्रथम भएका हुन्।
सोही संस्थामा अध्ययनरत कक्षा ११ का छात्र रमेश साउद प्रतिस्पर्धामा द्वितीय भएका छन्। उपाधि होडमा हेम मल्लले तृतीय स्थानमै चित्त बुझाएका छन्। धनगढीको चौराहाबाट सुरु भएको हाफ म्याराथन दसरथ भिम उद्यानमा पुगेर सम्पन्न भएको थियो। प्रतियोगितामा ४५ जना विद्यार्थी सहभागी थिए।
हाफ म्याराथनको उद्घाटन फाप्ला खेलकुद ग्राम विकास समितिका अध्यक्ष सुवाश शाही र प्रसिद्ध साइकलयात्री प्रकाश शाहले संयुक्तरुपमा गरेका थिए। विगत १० वर्षदेखि सञ्चालित कीर्तिगङ्गा इन्स्टच्युट अफ साइन्स एण्ड टेक्नोलोजीमा होटल म्यानेजेन्टको पठनपाठन हुँदै आएको संस्थाका अध्यक्ष योगेन्द्रबहादुर शाहीले बताए।