सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयपृथ्वी नगरपालिकाले जेष्ठ नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण गर्दै

फोटो : नरेन्द्र उपाध्याय
फोटो : नरेन्द्र उपाध्याय
२०८० वैशाख १, ११:५६ खबर संवाददाता

बझाङः बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ गडखेतमा जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिको घरममै गएर स्वास्थ्य परीक्षण गरिएको छ। जयपृथ्वी नगरपालिकाको  स्वास्थ्य शाखाको आयोजनामा जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको हो।

जेष्ठ नागरिक र असहायहरूको  सहज उपचार होस् भनेर सहयोग  एक दिने स्वास्थ्य चेकजाँच शिविर आयोजना गरिएको हो। बिहीवार गरिएको स्वास्थ्य चेकजाँचमा वडा नम्बर ४ गडखेत र विउराडीका २८ जना जेष्ठ नागरिक र १२ जना अन्यसहित ४० जनाको स्वास्थ्य चेकजाँच पछि उपचार सेवा प्रदान गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव नरेन्द्र थापाले बताए। 

नगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य केन्द्रको पहुँचभन्दा टाढा रहेका ग्रामीण क्षेत्रका जेष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई स्वास्थ्य संस्थामा आउन समस्या हुने भएकाले गाउँमै गएर उपचार गर्ने अभियान सुरू गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामचन्द्र जोशीले बताए।

'यो अभियानले ग्रामीण क्षेत्रका दीर्घ रोगी पहिचान गर्न सजिलो हुनेछ, 'उनले भने, 'अस्पताल आउन नसक्ने जेष्ठ नागरिकमा हुने उच्च रक्तचाप, दम ग्याष्ट्रीक, कम्मर र ढाड दुख्ने समस्याको पहिचान गरेर उपचार गर्न सजिलो हुने छ। बिरामीहरूलाई स्वास्थ्य केन्द्रबाट निःशुल्क औषधि उपलब्ध गराईने छ।“
 स्वास्थ चेकजाँचका क्रममा थप उपचारको आवश्यकता पर्ने बिरामीको पहिचान गरेर स्वास्थ्य संस्थामै पठाइने आधारभूत स्वास्थ्य केन्द्र गोलाईका ईन्चार्ज दिपेन्द्र खातीले बताए। बिहीवार गडखेतमा सम्पन्न स्वास्थ्य शिविरमा  नरेन्द्र थापा, दिपेन्द्र खाती ,उन्नती अवस्थी,विनोद ओखेडा लगायतका स्वास्थ्यकर्मीले घरदैलोमै गएर स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिएका थिए।

घर दैलोमै स्वास्थ्य चेकजाँच गरी औषधि प्राप्त गरेपछि  आफूहरुलाई सहज भएको गडखेतका जेष्ठ नागरिक कासिराम उपाध्यायले बताए। स्वास्थ्य परीक्षण अभियान नगरपालिकाका ११ वडाका  स्वास्थ्य चौकी तथा अस्पतालवाट भौगोलिक रुपमा टाढा रहेका  बस्ती र टोलमा केन्द्रित गरिने नगरपालिकाले जनाएको छ।

हालसम्म  सिद्दमनाना, मयाना, छयाला,काप्रा, ग्वानी, मल्लावाडा,, सुतिया, गडखेत , बिउराडीमा स्वास्थ्य चेकजाँच अभियान सम्पन्न भएको छ। यी ठाउँका १५०  जना महिला र ९१ पुरुष गरि जम्मा  २४१ जनाको स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाबाट  गाउँमा पहिलो पटक स्वास्थ्य परीक्षण अभियान चलाइएको भए पनि जयपृथ्वी नगरपालिका ४ नम्बर वडा कार्यालयको पहलमा आधारभूत स्वास्थ्य केन्द्रसँगको समन्वयमा सो वडाक गोलाई, खातीवाडा, गडखेत र विउराडी टोलमा हरेक महिना जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परीक्षण तथा उपचार गरिँदै आएको छ।

वडा भित्र रहेका जेष्ठ नागरिकलाई लक्षित गरेर गत जेठ महिनादेखि नै  सेवा प्रदान भइरहेको वडाध्यक्ष इश्वरबहादुर खातीले बताए। वडा नम्बर ४ मा गाउँघर क्लिनिक कार्यक्रम प्रभावकारी वन्दै गएकाले यसलाई निरन्तरता दिनुपर्ने जेष्ठ नागरिकहरूले  बताएका छन्।

कमेन्ट लोड गर्नुस