दैजी–छेलामा उद्योग स्थापनाका लागि ३५० आशयपत्र, हल्ला धेरै प्रगति सुस्त
धनगढीः दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास भएको दुई वर्षभन्दा बढी भइसकेको छ। २ वर्षभित्र पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य लिइएको दैजी–छेलामा भौतिक पूर्वाधारतर्फ अहिलेसम्म कुनै पनि काम शुरू हुन सकेको छैन।
औद्योगिक विकास लिमिटेडले शिलान्यास भएको १ महीनाभित्र उद्योग स्थापनाका लागि आशयपत्र आह्वान गर्ने, त्यसको आधारमा ६ महीनाभित्र उद्योगीहरूलाई चाहिने न्यूनतम पूर्वाधार (अस्थायी सडक, विद्युत्, पानीलगायत)को व्यवस्थापन गरी औद्योगिक क्षेत्रको काम अघि बढ्ने बताएको थियो।
दुई वर्षभित्र उद्यमीका लागि आवश्यक पूर्वाधार तयार गरी सञ्चालनमा ल्याउने र ५ वर्षभित्र सम्पूर्ण पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य राखेको कम्पनीले आशयपत्र आह्वान र रूख छपानको कामबाहेक अन्य भौतिक प्रगति गर्न सकेको छैन। कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको औद्योगिक क्षेत्रको पूर्वतर्फ मुक्त कमैया बस्ती, धेउडीथुम खोल्सा, पश्चिमतर्फ साजगाड खोला, उत्तरतर्फ चुरे वन र दक्षिणमा चाँदनीफाँटा बस्ती छन्।
२०५१ सालदेखि छेलामा औद्योगिक क्षेत्र स्थापनाको चर्चा हुँदै आएकोमा २०७७ फागुन १० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले औद्यौगिक क्षेत्रको शिलान्यास गरेका थिए। औद्योगिक क्षेत्र स्थापनाको शिलान्यासपछि समयमै निर्माण सम्पन्न भएर सञ्चालनमा आउने आशा गरेका स्थानीयवासी ढिलाइ हुँदा निराश छन्।
वेदकोट नगरपालिका–२ का वडाध्यक्ष नरेशबहादुर सिंहले औद्योगिक क्षेत्रमा रूख छपानको काम भइरहे पनि भौतिक पूर्वाधारको काम नभएको बताए। उनका अनुसार जिल्ला वन कार्यालयमार्फत रूख छपानको काम भइरहेको छ। पालिका स्तरबाट औद्योगिक क्षेत्रको काम अघि बढाउन सरोकारवाला निकायबाट निरन्तर खबरदारी भइरहेको उनको भनाइ छ।
‘छेलामा औद्योगिक क्षेत्रको शिलान्यास भएको २ वर्ष पुग्दै छ,’ उनले भने ‘अहिले रूख छपानको काम अन्तिम चरणमा छ, अन्य काम शुरू भएको छैन, वनको काम सकिएपछि थप काम अघि बढ्ला।’ वन डिभिजन कार्यालय कञ्चनपुरको प्रमुख शम्भुप्रसाद तिवारीले कटानी गर्नुपर्ने रूखको नम्बरिङ गर्ने कार्य अन्तिम चरणमा रहेको जानकारी दिए।
२०७७ साउन १८ मा स्वीकृत भएको वातावरण प्रभाव मूल्यांकन अनुसार दैजी–छेलामा करीब २५ हजार रूख कटानी गर्नुपर्नेछ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका इन्जिनियर प्रकाश अधिकारीले रूख छपानको काम सकिएपछि भोगाधिकारको काम अघि बढ्ने बताए। उनका अनुसार कानूनी प्रक्रियाले औद्योगिक क्षेत्रको काममा ढिलाइ भएको हो।
रूख छपानको काम सकिएर मन्त्रिपरिषद्बाट भोगाधिकार दिने निर्णय भएपछि मात्र रूख कटानदेखि भौतिक संरचना निर्माण अघि बढ्ने उनले बताए। औद्योगिक क्षेत्र लिमिटेडका अनुसार उक्त औद्योगिक क्षेत्रमा एक उद्योगका लागि पाँच कठ्ठादेखि पाँच बिघा जमीन छुट्ट्याइएको छ। औद्योगिक क्षेत्र निर्माणका लागि ९ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। उद्योग स्थापना भएमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २२ हजारले रोजगारी पाउनेछन्।
१०० ओटा औद्योगिक प्लट रहने दैजी–छेला औद्योगिक क्षेत्रमा साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्ट्याइएको छ। यो औद्योगिक क्षेत्रको निर्माण सम्पन्न भएर उद्योगहरू सञ्चालनमा आए सुदूरपश्चिमकै आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको छ। शिलान्यास भइसकेको औद्योगिक क्षेत्रको कामलाई चाँडो अघि बढाउन निजीक्षेत्रले माग गरेको छ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले दैजी–छेला औद्योगिक क्षेत्रको काम निकै सुस्त रहेको गुनासो गरे। यो औद्योगिक क्षेत्र सुदूरपश्चिमकै आर्थिक समृद्धिसँग जोडिएको बताए। औद्योगिक क्षेत्रले भोगाधिकारसहित कानूनी प्रक्रिया पूरा गरे निजीक्षेत्र तत्काल ३० देखि ५० उद्योग स्थापना गर्न तयार रहेको समेत उनले बताए। दैजी–छेलामा उद्योग स्थापनाका लागि ३५० ओटा आशयपत्र प्राप्त भएको औद्योगिक लिमिटेडले बताएको छ।