सुदूर नेपाललाई विश्वसँग जोड्दै

पशुहरुमा लम्पी स्कीनको प्रकोप, पशु चिकित्सकसहित पाटनका मेयर गाउँमा 

२०७९ चैत्र १९, १०:४४ खबर संवाददाता

बैतडीः बैतडीमा घरपालुवा पशुचौपायामा लम्पी स्कीनको प्रकोप देखिएपछि पशु चिकित्सकसहितको टोली लगेर गाउँमा पुगेका छन्।

किसानहरुले पालेका घरपालुवा पशुचौपायामा लम्पी स्कीनको प्रकोप देखिएपछि पाटनका मेयर गौरीसिंह रावल पशु चिकित्सकसहितको टोली लगेर गाउँमा पुगेका हुन। लम्पी स्कीन रोगका कारण नगरपालिकाका विभिन्न वडामा किसानहरुले पालेका पशु चौपायामा क्षति हुन थालेपछि पशु चिकित्सकको टोलीसहित आफूहरु गाउँमा पुगेको उनले बताए।

आइतबार पाटन नगरपालिकाको वडा नं–३ मा किसानहरुको घरदैलोमा पुगेर बिरामी पशुहरुको उपचार गरिएको छ। भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्स डा.विशाल पाठकसहितको पशु प्राविधिकहरुको टोलीले बिरामी पशुहरुको उपचार गरेको हो।

लम्पी स्कीन भाइरल रोग भएकाले यसको खासै औषधि उपचार नहुने भएपनि यसको प्रकोप कम गर्नका लागि केही उपाय भने अपनाउन सकिने बताइएको छ। लम्पी स्कीनका कारण पशुचौपायाहरुमा इन्फेक्सन भएका ठाउँमा थप इन्फेक्सन नहोस भन्नका लागि केही उपचार गर्न सकिने भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए।

लम्पी स्कीन अहिले जिल्लाभरी फैलिएको र पाटनका केही वडामा पशु चिकित्सकसहितको टोलीले सेवा दिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस