सुदूर नेपाललाई विश्वसँग जोड्दै

माथि हेर्दा चट्टान खस्ला झैँ, तल झनै डरलाग्दो भिर

२०७९ चैत्र १८, ०२:१९ खबर संवाददाता

बझाङः चट्टानै चट्टान भएको भीरमा साँघुरो बाटो। यताउता फर्कनै नमिल्ने। माथि हेर्दा चट्टान खस्ला झैँ, तल हेर्दा आँङै सिरिङ हुने। त्यही बाटोमा भारी बोकेर यात्रा गर्छन्, तलकोट गाउँपालिका–२ रुवातोलाका गोविन्द बोहरा। उनी हरेक महिना छ–सात पटक भारीसहित तीन दिन पैदलयात्रा गरेर साइपाल पुग्छन्।

भारी बोकेरै जीविकोपार्जन गर्ने उनलाई सरकारले रोजगारी दिएन भन्ने गुनासो छैन। सरकारले बाटो मात्रै बनाइदिए उनको मनमा शान्ति हुने बोहराको भनाइ छ। ‘जीविकोपार्जनका लागि साइपालको भारी बोक्नुपर्छ,’ उनले भने, ‘साइपालमा भारी बोकेर जान सबैभन्दा समस्या यही बाटोमा हुन्छ। पालिकाले रोजगारी नदिए पनि बाटो मात्रै बनाइदिए हामीलाई ठूलो राहत हुने थियो।’

रुपातोलाको किर्किट्याबाट अहिलेसम्म बाटो काटिएको छैन। चट्टान तथा पहिराको बीचमा चौपायाले टेकेका पाइलामा पाइला मिलाएर यात्रा गरेको पनि पाँच वर्ष भइसक्यो। मानवबस्तीको सबैभन्दा अन्तिम गाउँ साइपालको न्युना, बलौडी तथा धुलीका लागि पिठ्यूँमा भारी बोक्दै हिँड्ने उहाँलाई सबैभन्दा कठिन यात्रा कालडाँडासम्मको लाग्छ।

कालडाँडादेखि किर्किट्यासम्मको दूरी झन्डै २५ किलोमिटर छ। ‘यो बाटोमा संयमता नअपनाए कोही पनि फर्केर आउन सक्दैन,’ बोहराले भने, ‘भारी पिठ्यूँमा बोकेर एकछिन पनि पर्खन सकिन्न । माथिबाट ढुङ्गा खस्ला भन्ने डर, तलबाट खुट्टा चिप्लिने डर। संयोगवश अहिलेसम्म दुःखद खबर भएको छैन।’ बोहराका अनुसार रुपातोलाको किर्किट्याबाट भारी बोकेर कालडाँडा पुग्न १२ घण्टा लाग्छ।

कालडाँडा तलको खोला (ठूले खोला) सम्म पुग्नै साढे पाँच घण्टा लाग्छ। त्यसपछि उकालै उकालो। त्यो यात्रा पार गरेपछि भने बाँचे जस्तै लाग्छ, उनले भने। गैरीडाँडा कालडाँडा र ठुले खोलाको बीचमा पर्छ। कालडाँडा पुग्न यहाँबाट साढे दुई घण्टाको यात्रा गर्नुपर्छ। कालडाँडा पुगेपछि मात्रै साइपाल पुगेजस्तै हुन्छ। साइपालको न्यूना गाउँ पुग्न कालडाँडाबाट झन्डै १० घण्टा उकालो ओरालो हिँड्नुपर्छ।

साइपालले फराकिलो बाटो बनाएको हुँदा जता पनि भारी बिसाउन सकिन्छ। आराम गर्दै हिँड्न सकिने भएकाले बाटोको समस्या हुँदैन। रुपातोलाका महादेव जोशी पुजारी हुन्। उनका जजमान (पूजा लगाई माग्ने समुदाय) साइपालमा छन्। पूजाआजा हुने साइतदेखि औँसी पूर्णिमाको दिन जोशी साइपाल पुग्छन्। न्यूना र बलौडीमा पूजाका लागि उनी घरबाट एक दिन अघि नै निस्कनुपर्छ।

किर्किट्या–गैरीडाँडा–कालडाँडा बाटो हिँड्ने तलकोटको रूपातोलावासी मात्रै नभइ साइपालको न्युना र बलौडीबासी पनि नियमित ओहोरदोहोर गर्छन्। माथिबाट तलकोट क्षेत्रको करिब तीन घण्टा लाग्ने बाटो साइपालले काटेको छ। काँडा भएर जान छ दिन पैदल यात्रा गर्नुपर्छ। अझ कहिलेकाहीँ खोला बढेर जानै सकिँदैन। हिउँदमा यहाँका बासिन्दाले यही चट्टानको बाटो भएर बोकेर ल्याइएका खाद्य तथा दैनिक उपभोग हुने सामानबाट गुजारा गर्नुपर्ने बाध्यता छ।

तलकोटको सिमाना काउल्यासम्म हो। काउल्यादेखि कालडाँडा पुग्न झन्डै पाँच घण्टा समय लाग्छ। त्यो बाटो सबै साइपाल गाउँपालिकाले काटेको छ। तलकोट गाउँपालिकालाई बाटोका लागि धेरै प्रयास गर्दा पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ।
गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले बाटो निर्माणका लागि पहल भइरहेको बताउँछन्।

उनले भने, ‘म पालिकामा आएदेखि नै बाटोका निर्माणका लागि कार्यपालिकामा निर्णय गरेर डेढ लाख छुट्याएका छौँ। बिस्तारै काम हुनेछ र आवश्यकताअनुसार बजेट पनि थप्नेछौँ।’ पालिकामा नयाँ सरकार बनेको अब एक वर्ष पुग्न लागेको छ। बाटो खन्ने तयारीसमेत नभएकाले अध्यक्षको कुरा पत्याउन नसकिने स्थानीय बताउँछन्।

कमेन्ट लोड गर्नुस