नेपाल पुलिस क्लव खप्तड गोलडकपको क्वाटरफाइनलमा

धनगढीः विदेशी टोली जर्जियनलाई हराउँदै नेपाल पुलिस क्लव छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोलडकपको क्वाटरफाइनलमा पुगेको छ।
प्रतियोगिताको तेस्रो दिन भएको खेलमा पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई ३–० गोल अन्तरले पेनाल्टी सुटआउटमा पराजित गरेको हो।
धनगढी रंगशालामा शनिबार भएको खेलमा पुलिसका मनोज राईको आत्मघाती गोलमा विदेशी टोलीले आठौं मिनेटमा अग्रता लिएको थियो।
पुलिसका भोला सिलवालले ४२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको हो।
पुलिसका भोला सिलवाल, पृथ्वी चौधरी र सुमन सुवेदीको पेनाल्टी सफल भयो। विदेशी टोलीका प्रवेश रोय, प्रणय मुखिया र सोनम लेप्चाको प्रहार असफल भयो। पुलिसले सेमिफाइनल प्रवेशका लागि चैत १४ गते आयोजक सुदूरपश्चिम–११ संग प्रतिष्पर्धा गर्नेछ।
आइतबार क्वाटरफाइनलको खेलमा फ्रेन्ड्स क्लव र थ्री स्टारबीच प्रतिष्पर्धा हुने छ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो। आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिता १८ गतेसम्म चल्ने छ।

