सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द

२०७९ चैत्र ११, ०५:२७ खबर संवाददाता

बैतडीः बैतडीको पाटनस्थित विमानस्थलको हवाई सेवा बन्द भएको एक वर्ष भएको छ।

धनगढी–बैतडी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो। साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते अन्तिम पटक उडान भएको थियो। हवाई भाडा महँगो हुँदा र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले बताए। उनले भने, ’यात्रु अभावका कारण उडान हुन सकेको छैन, यात्रु नै नभएपछि हवाई सेवा बन्द भएको हो।’

यसअघि उडान भर्दै आएको समिट एयरले अबदेखि उडान नभर्ने जनाएको छ। यात्रु अभाव हुन थालेपछि उडानका लागि गरिएको सम्झौता रद्द गरिएको भट्टको भनाइ छ। ’दसैँ, तिहारका बेला मात्रै एकतर्फीरूपमा यात्रु पाइने र त्यसले इन्धन खर्च पनि नउठ्ने भएपछि उडान रद्द गर्न बाध्य भएका हौँ’, उनले भने। भट्टका अनुसार यात्रु पाइन छोडेपछि एक वर्षदेखि उडान बन्द भएपनि सम्झौता नै रद्द गरिएको हो।

पाटन–धनगढी हवाई यात्रा १७ मिनेटको छ। सत्र मिनेटको हवाई यात्राका लागि पाँच हजार भाडा तोकिएपछि यात्रु पाइन छोडेका हुन्। सुरुमा हवाई सेवा सञ्चालन हुँदा तीन हजार आठ सय ५० भाडा तोकिएको थियो। समिट एयरले सम्झौता रद्द गरेपछि अब कहिले उडान हुने भन्ने अनिश्चित भएको छ।

हवाई सेवा बन्द हुँदा आकस्मिकरूपमा बिरामी भएकालाई उपचारका लागि बाहिर अस्पातलमा लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए। भाडा पनि महँगो भएकाले भाडा घटाएर नियमितरूपमा उडान सञ्चालन गरिनुपर्ने उनको भनाइ छ। विमानस्थलमा हवाई सेवा बन्द हुँदा त्यहाँँ बनेका करोडौँका संरचना प्रयोगविहीन बनेका छन्।–रासस

कमेन्ट लोड गर्नुस