सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा सञ्चालन भएन मलमूत्र व्यवस्थापन केन्द्र

२०७९ चैत्र ११, ११:२२ खबर संवाददाता

टीकापुर: कैलालीको टीकापुरस्थित मानव मलमूत्र व्यवस्थापन केन्द्रमा १ वर्षमा ४५ ट्याङ्कर मलमूत्र पु–याइएको छ। विसं २०७८ मा सुरु भएको केन्द्रमा १ वर्षमा उक्त परिमाणमा मलमूत्र व्यवस्थापनका लागि ल्याइए पनि प्रशोधन भने गरिएको छैन। प्रशोधन प्रक्रिया सुरु हुन आवश्यक मलमूत्र नआएपछि प्रशोधन प्रक्रियाबाट मलमूत्र छान्ने काम अलपत्र परेको छ।

केन्द्र अलपत्र पर्न थालेपछि यतिखेर परामर्शदाताका कर्मचारीले नगरपालिका र निजी सङ्कलक ट्याङ्कर चालकसँग छलफल थालेका छन्। सञ्चालन भएको २ वर्षसम्म निर्माण कम्पनीले सञ्चालन गर्नुपर्ने शर्त छ। तर, सञ्चालन भएर नगरपालिकालाई हस्तान्तरण गर्ने अवधि एक बाँकी रहँदा केन्द्र सञ्चालन हुन नसकेपछि चिन्ताको विषय भएको छ।

केन्द्र सञ्चालन गर्न आवश्यक मलमूत्र अभावकै कारण प्रशोधन प्रक्रियामा कहाँ कहाँ कमजोरी छ भनेर हेर्न नपाएको परामर्शदाताको भनाइ छ। मलमूत्रको अभावले प्रशोधन गर्ने प्रक्रिया नै सुरु नभएको साना सहरी खानेपानी आयोजनाका इन्जिनियर पारसमणि भट्टले जानकारी गराए।

‘मलमूत्र अभावले केन्द्र सञ्चालन नभएको हो’, भट्टले भने ‘प्रशोधन केन्द्र सञ्चालन हुन दैनिक नौ घनमिटर मलमूत्र भएपछि मात्र सिस्टम चल्छ ।’ एउटा ट्याङ्करमा तीन घनमिटरसम्म मलमूत्र हुन्छ। दैनिक सञ्चालनलाई ३ ट्याङ्कर मलमूत्र आवश्यक रहेको उनले भनाइ छ। ‘केन्द्र सञ्चालनलाई योजना बनाएर टीकापुरमात्र नभई अन्य पालिकाबाट पनि मलमूत्र ल्याउन आवश्यक छ’ उनले भने। उनले परामर्शदाताले सञ्चालनको पहल गरिरहेको बताए।

नगरपालिकाले एउटा शौचालयको मलमूत्र सङ्कलन गर्न २ हजार ५ सय शुल्क लिन्छ भने निजी ट्याङ्करले पनि सोही शुल्कमा सङ्कलन गर्छ। टीकापुर नगरपालिकामा शुल्क तिरेको आधारलाई मान्ने हो भने वर्षमा ७७ ट्याङ्कर मलमूत्र केन्द्रमा पुग्नुपर्ने हो। नगरपालिकाको एउटा र २ निजी ट्याङ्करले मलमूत्र सङ्कलन गर्छन्। कैलाली जिल्ला खुलादिसा मुक्त क्षेत्र भए पनि सङ्कलन भएको मलमूत्र मेसिनको सहयोगमा ट्याङ्करले खुल्ला क्षेत्रमा फाल्छन्। मलमूत्र फाल्दा घरधनीबाट खुला क्षेत्रमा फाल्नुपर्छ भन्दै थप शुल्क लिने गरेका छन्।

‘वर्षभरिमा नगरपालिकाको ट्याङ्करले ७७ घरको शौचालयबाट मलमूत्र सङ्कलन गरेको देखिन्छ भने व्यवस्थापनमा जम्मा ४५ ट्याङ्कर सङ्कलन भएको देखिन्छ’, मलमूत्र व्यवस्थापनका ल्याब टेक्नेसियन आफन्त चौधरीले भने ‘सङ्कलन गर्ने ट्याङ्करकै कारण र कतिपयले घरधनीले घर नजिकै खुला मलमूत्र फाल्दा व्यवस्थापन केन्द्र पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन भने दिसामुक्त क्षेत्रको अवधारणालाई बेवास्ता गरिँदै आएको छ।’

समाजसेवी निर्मला कडायतले भनीन् ‘नगरपालिका र यस क्षेत्रका अन्य पालिकाले खुला दिसा फाल्नेलाई कारबाही गर्ने नीति नबनाएसम्म करोडौँ लगानीमा बनेको संरचना चल्न सक्दैन। मलमूत्र फाल्दा खुला फाल्ने र घरधनीसँग थप शुल्क लिनेलाई स्थानीय सरकारले कारबाही गर्नुपर्छ।’

मलमूत्र व्यवस्थापन केन्द्रले दैनिक नौ घनमिटर अर्थात् ९ हजार लिटर मलमूत्र व्यवस्थापन गर्न सक्छ। पछिल्लो जनगणना अनुसार टीकापुरमा १९ हजार घरधुरी छन् भने ९० हजार जनसङ्ख्या छ। केन्द्रमा प्रशोधन भएको पानी जमरा कुलामा पठाउने व्यवस्था मिलाइएको छ।

शौचालयबाट निकालिएको मलमूत्र आफ्नै बारीभित्रै र खुला क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने समस्या थियो। अब प्रशोधन गरेर ऊर्जा निस्कनेछ । एकपटक प्रशोधन प्रक्रिया सुरु गरेपछि २६ दिनको प्रक्रिया हुन्छ। पक्रिया पूरा भएपछि मल सङ्कलन हुन्छ। झोल थिग्रिदैं सफा पानीमा परिणत हुन्छ।

नगर प्रमुख रामलाल डगौरा थारुले अहिले परामर्शदाताले नै सञ्चालन गरिरहेको मलमूत्र सङ्कलनका लागि पहल भइरहेको बताए। उनले भने ‘हामीले पटकपटक छलफल गरेका छौैँ, यसलाई व्यवस्थित गरेर सञ्चालनको तयारीमा छौँ, करोडौंको संरचना भएकाले अन्य पालिकासँग समन्वय गरेर व्यवस्थितरुपमा चलाउने तयारीमा छौँ।’ रासस

कमेन्ट लोड गर्नुस