सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा स्वास्थ्य सेवा कटौतिको असर, अब पैसा नहुने बिरामीले मर्नुपर्ने!

२०७९ चैत्र १०, ०७:०७ कमल सावद

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की शारदादेवि विश्वकर्मा ६ वर्षदेखि बिरामी छन्। कञ्चनपुरमा उपचार नहुने भन्दै चिकित्सकले उनलाई रेफर गरे। एकल तथा दलित महिला भएकाले निःशुल्क स्वास्थ्य सेवा दिन वडा कार्यालयले सिफारीस गरेको हो। महेन्द्रनगरदेखि धनगढीसम्मको दुई सय गाडी भाडाका लागि पनि विश्वकर्मासँग रकम थिएन्। बिहिवार राति गाडीमा निःशुल्क आएकी विश्वकर्माले सेती अस्पतालमा भने रकम तिर्नुपर्ने भयो।

उनले सेतीमा आकस्मिक स्वास्थ्य सेवाका लागि पर्चाको भुक्तानी गरेकी हुन्। उनले भनिन्, ‘उपचारको लागि आएकी हुँ। न मेरो छोरो छ, न मेरो श्रीमान छ। छातीको समस्या छ। एक्सरे गर्नुपर्ने पैसा छैन। एकल महिला हुँ। श्रीमान छैनन्। के गरु?’ उपचारका लागि पर्चाको भुक्तानी समेत अरुले गरिदिएका हुन्। शुक्रवार बिहान उनले चिकित्सकसँग भेट गरिन्।

चिकित्सकले विभिन्न परिक्षणको सूची पर्चामा लेखेका छन्। तर विश्वकर्मासँग स्वास्थ्य परिक्षणका लागि रकम छैन। सामाजिक इकाइबाट सेवा लिनका लागि वडाको सिफारीस ल्याएकी उनले सेवा पाइनन्। सेती प्रादेशिक अस्पतालको समाजिक सेवा इकाईका कर्मचारीसँग शारदादेवि सेवा दिन हारगुहार गर्दै थिइन्। तर अस्पतालले उक्त सेवा बन्द गरेको कर्मचारी भन्दै थिए। एक रुपैयाँ छैन। ‘खाना पनि खाएको छैन। यो पर्चा पनि अरुले काटिदिएका हुन्।

मसँग एक रुपैयाँ छैन्। सिफारिसले पनि काम गरेन। कसरी उपचार गरौँ?’ अस्पतालले सामाजिक सेवा इकाईमार्फत प्रदान गर्दै आएको सेवा बन्द भएको हो। सामाजिक सेवा इकाईमार्फत १२ वटा लक्षित समूहमा आधाभन्दा बढीले सेवा पाएका छैनन्। सामाजिक सेवा इकाईको सेवा माघ १७ गतेबाट र सिकलसेलको बिरामीले पाउदै आएको निःशुल्क सेवा फागुन ५ गतेबाट बन्द गरिएको छ।

सेती प्रादेशिक अस्पतालमा लक्षित समूहका लागि एक करोड ६९ लाख र सिकलसेलका लागि २० लाख मात्र बजेट विनियोजन भएको थियो। अस्पतालसँग बजेटको अभाव रहेकाले निःशुल्क सेवा बन्द गरिएको अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाहले बताए। उनले चालु आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन नभएको बताए। लक्षित समूहका लागि मासिक ४० लाख रुपैयाँ आवश्यक हुने उनले बताए। उनले भने, ‘चालु आर्थिक वर्षमा पर्याप्त बजेट आएन्।

आधा मात्र बजेट आयो। चार करोड बजेट आवश्यक हुन्छ। एक करोड ६९ लाख मात्र बजेट विनियोजन भयो। प्रदेश सरकारले दिएको बजेट ६ महिनामै सकियो। तीन करोड २० लाख माग गरेका छौ। बजेट प्राप्त भएपछि मात्र सेवा पुनः सुरु गर्नेछौ।’ अस्पतालले तीन करोड २० लाख लक्षित समूहका लागि र ४० लाख बजेट सिकलसेलका बिरामीका लागि माग गरेको छ। 

सेतीमा आठ सय ४५ सिकलसेलका बिरामी उपचारमा रहेका छन्। उनीहरुले पनि निःशुल्क सेवा पाएका छैनन्। अस्पतालले सामाजिक सेवा इकाईमार्फत जेष्ठ नागरिक, जनआन्दोलनका घाइते, एकल महिला, गरिब लगाययलाई दिदै आएको सेवा बन्द गरेको छ। सुदूरपश्चिम प्रदेशमा पैसा नभएका बिरामीहरुले मर्नुपर्ने अवस्था आएको सेवाग्राहीको गुनासो छ।

 

 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस