सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैदेशिक रोजगारीमा जानेको लागि ‘टेलिमेडिसिन’ सेवा सञ्चालन गर्दै बोर्ड

२०७९ चैत्र ८, ०५:४२ खबर संवाददाता

काठमाण्डौः वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सरकारले ’टेलिमेडिसिन’ सेवा प्रदान गर्ने भएको छ।

आउँदो शुक्रबारदेखि प्रत्येक हप्ताको शुक्रबार र आइतबार गरी दुई दिन श्रमिकका लागि ’टेलिमेडिसिन’ सेवा प्रदान गर्ने वैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डका अनुसार यो सेवा प्रदान गर्नका लागि वैदेशिक रोजगार बोर्ड र वीर अस्पतालबीच सम्झौता भएको छ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकमा बढ्दो विभिन्न स्वास्थ्य समस्यासँगै मानसिक स्वास्थ्य समस्यालाई समेत सम्बोधन गर्न गन्तव्य देशमा रहेका नेपाली श्रमिकका लागि नेपालबाटै पहिलो पटक ’टेलिमेडिसिन’ सेवा सञ्चालन गर्न लागिएको बोर्ड सूचना अधिकारी राजन पौडेलले बताए।

उनले भने ‘वैदेशिक रोजगारीमा गएकाहरूका विभिन्न स्वास्थ्य समस्या छन्, तर उनीहरुले भाषा लगायतको कारण गन्तव्य देशमा सेवा लिन सकिरहेका छैनन्, उनीहरूको सहजताका लागि हामीले यो सेवा सुरुवात गर्न थालेका हौँ।’ हप्ताको दुई दिन सञ्चालन हुने ’टेलिमेडिसिन’ सेवामा कम्तीमा पनि जनरल फिजिसियन, मनोसामाजिक परामर्शकर्ता वा मनोचिकित्सकहरू हुनेछन्।

कमेन्ट लोड गर्नुस