सुदूरपश्चिमका लघुवित्तमा धमाधम तालाबन्दी, ऋणीको उठीवास
धनगढीः सुदूरपश्चिममा सञ्चालित लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयमा एकपछि अर्को तालाबन्दी भइरहेको छ। कञ्चनपुर र दार्चुलामा सञ्चालित लघुवित्तका तीन शाखा कार्यालयमा तालाबन्दी गरिसकिएको छ। क्रमिक रुपमा अन्य लघुवित्त वित्तीय संस्थामा पनि तालाबन्दी गरिने बताइएको छ।
लघुवित्तबाट कर्जा लिएका ऋणीको उठिबास नै लाग्न थालेपछि यहाँका लघुवित्तमा तालाबन्दीदेखि निक्षेप जम्मा नगर्नेसम्मको अवस्थामा ऋणी पुगेका छन्। अहिलेकै अवस्थामा लघुवित्त सञ्चालन हुने हो भने सञ्चालिन लघुवित्त नै पलायन हुने खतरा समेत बढेको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संगठनका कार्यकर्ताले दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेका दुई लघुवित्तमा तालाबन्दी गरेका छन्।
मंगलबार गोकुलेश्वरस्थित माइक्रो फाइनान्स र निर्धन लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरिएको छ। लुघवित्तले सर्वसाधारणहरुलाई चर्को ब्याजदरमा ऋण दिएर मानसिक तनाव र दुःख दिएको भन्दै उनीहरूले वित्तीय संस्थालाई चेतावनी स्वरुप पहिलो चरणमा तालाबन्दी गरेको बताएका छन्। युवा संगठन नेपाल दार्चुलाका ईन्चार्ज जीवन विष्ट र संयोजक ओमप्रकाश रावलले विज्ञप्तिमार्फत वित्तीय संस्थामा तालाबन्दी लगाउनुको कारण खुलाएका हुन्।
विज्ञप्तिमा चक्रवती ब्याज असुल गरेको, महिला उद्यमीलाई १५ प्रतिशत ब्याज भन्ने सेवाशूल्क हर्जना लगाई १५ दिनमै असुल गरेको, ऋणीको घरबाट टिभी, बाख्रा, कुखुरा भैंसीसमेत उठाएको उल्लेख गरिएको छ। यस्तै ऋणीले समय माग्दा मानसिक यातना दिने गरेको जनाइएको छ। मंगलबार दिउँसो वित्तीय संस्थामा लगाइएको ताला प्रहरीले तोडेको थियो। यसअघि कञ्चनपुरको एक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयमा तालाबन्दी गरिएको थियो।
जिल्लाको सुडामा रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालयमा तालाबन्दी गरिएको हो। नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले बिभिन्न ५ कारण देखाउँदै सो वित्तीय संस्थामा तालाबन्दी गरेको थियो। लघुवित्तले उपभोक्ताबाट चर्को ब्याज असुली गरिरहेको र आफ्नो पार्टीले ५ प्रतिशत ब्याज लिनुपर्ने अडान राखेको सो पार्टीले बताएको छ। संस्थाले किस्ता असुल उपर गर्दा ऋणिहरुसित जबरजस्ती र दुव्र्यबहार गरेको पाइएको बहुमतको आरोप छ।
बिभिन्न प्रलोभन (स्किम) दिएर उपभोक्तालाई ठग्ने र दुःख दिने गरिएको र बचत बुक संस्थामा राखेर आयव्यय पारदर्शी नगरेको गुनासो उपभोक्ताबाट आएको बहुमतले जनाएको छ। कैलालीको घोडाघोडी–१ की जुना सुनारसँग सम्पत्तिका नाममा डेढ कट्ठा जग्गा र सानो घर मात्र छ। उनलाई १३ वटा लघुवित्तले ३१ लाख ऋण दिएका छन। लघुवित्त कम्पनीहरूले घेर्न थालेपछि उनीलगायत पीडित महिलाले संघर्ष समितिमा लिखित गुनासो पनि गरेका छन।
जुनालाई निर्धन लघुवित्तले दुई लाख ५० हजार, किसानले ३ लाख, युनिक नेपालले दुई लाख, महिलाले दुई लाख ५० हजार, आशाले दुई लाख, स्वदेशीले पाँच लाख, एनआरएनले दुई लाख, गणपतिले एक लाख, फरवार्डले एक लाख, जनउत्थानले एक लाख, विजयले दुई लाख, कालिकाले तीन लाख र इन्फिनिटीले चार लाख ऋण दिएका छन।
सानो लगानीमा व्यवसाय सञ्चालन गर्दै आएकी उनले ऋण तिर्ने बाटो तत्काल केही देखेकी छैनन। भन्छिन्, ‘धेरै संस्थाबाट ऋण लिएकी छु तर ब्याज र किस्ता तिर्न सकेकी छैन, लघुवित्तका कर्मचारी आउँछन्, भएका बेला दिउँला भनेर फर्काउने गरेकी छु।’
बिनाधितो ऋण दिने होडबाजीमा लघुवित्तहरूले आफूले दिएको ऋण सदुपयोग हुन्छ कि हुन्न, ऋणीले तिर्न सक्छन् कि सक्दैनन् वा अन्य संस्थाबाट ऋण लिएको छ कि छैनजस्ता सामान्य मापदण्ड पनि पालना गरेको देखिँदैन।
कैलाली घोडाघोडीकी शोभा शाही, कैलारीकी खेमा क्षेत्री, कञ्चनपुर कृष्णपुरकी विमला शाही, डडेलधुरा अमरगढीकी द्रोपतीदेवी जोशी, दार्चुला शैल्यशिखरकी धना जैसीसहित महिलाले दर्जनसम्म लघुवित्तबाट ऋण लिएका छन। संघर्ष समितिले तयार पारेका लघुवित्तपीडितको फाराम हेर्ने हो भने एउटै व्यक्तिलाई यसरी ऋण दिँदा कोही जमानीसमेत बसेका छैनन।