सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा ४८ प्रतिशत बालबालिकामा कुपोषण, ५ बालबालिकाको मृत्यु

२०७९ चैत्र ७, ०६:३८ खबर संवाददाता

बाजुराः बाजुरा जिल्ला अस्पताल बाजुरामा उपचाररत एक कुपोषित ५ महिने बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–६ का रमिता नेपालीको पाँच महिने बालकको उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पताल बाजुराकी पोषण संयोजक निर्मला सुनारले बताएकी छन्।

कुपोषणबाट ग्रसित बालकलाई जिल्ला अस्पतालस्थित पोषण पुनर्स्थापना केन्द्रमा ९ दिन अघि उपचारका लागि भर्ना गरिएको थियो। बालकमा कडा कुपोषण रहेकाले बचाउन नसकेको पोषण संयोजक सुनारले बताइन्। डेढ महिना अगाडि पनि कुपोषणको उपचार गर्न ती बालकलाई पोषण पुनर्स्थापनामा राखिएको थियो।

डेढ साताको उपचारपछि अवस्था सामान्य भएको भन्दै स्वास्थ्यकर्मीले घर पठाएका थिए। बालक पुनः बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको थियो। अन्तिम अवस्थामा अस्पतालमा पु¥याएकाले बालकलाई बचाउन नसकिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा वैशाख यता पाँच जना बालबालिकाको कुपोषणकै कारण मृत्यु भएको छ। बाजुरा बर्सेनि धेरै बालबालिकाको कुपोषणका कारणले मृत्यु हुने गरेको छ। स्वास्थ्य चेतनाको कमी र स्वास्थ्य संस्थासम्मको स्थानीयको असहज पहुँचका कारण पनि बर्सेनि बालबालिकाहरूले ज्यान गुमाउनु परेको छ। 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भर्खर मात्र गरेको कुपोषणको ‘स्मार्ट सर्भे’मा बाजुरामा कुपोषणको दर उच्च रहेको देखाएको छ। बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपकबहादुर शाहले भन्छन्, ‘धेरै पक्षहरू होलान् तर गरिबी नै यसको मुख्य कारण हो। गरिबीले नै कुपोषण त भयावह हुने नै भयो।’

बाजुराका ९ स्थानीय तहका ६९ वडा मध्ये २७ वडाका घरघरमा पुगेर पाँच वर्ष मुनिका बालबालिकामा सर्भे गरिएको थियो। सर्वेक्षणमा पुड्कोपन ४८ दशमलव ८ प्रतिशत, ख्याउटेपन ८ दशमलव ६ प्रतिशत र कम तौल ३० दशमलव ६ प्रतिशत देखिएको थियो। सर्वेक्षणकाअनुसार बाजुरामा ४८ प्रतिशत कुपोषण रहेको देखाएको छ।

कमेन्ट लोड गर्नुस