सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरमा घरजग्गा कारोवारः ७.१२ प्रतिशतले गिरावट, एक अर्व १५ करोड असुली

२०७९ चैत्र ६, १०:३२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र घरजग्गा कारोवार घट्दै गएको छ। नेपाल राष्ट्र बैंक धनगढीले आर्थिक वर्ष २०७८/७९ मा तयार पारेको अध्ययन प्रतिवेदनअनुसार घरजग्गा कारोवार ७ दशमलव १२ प्रतिशतले ह्रास आएको उल्लेख छ। आर्थिक वर्ष २०७७/७८ मा ३३ दशमलव ५६ प्रतिशतले घरजग्गा कारोवार वृद्धि भएकोमा गत वर्ष ७ दशमलव १२ प्रतिशतले कारोवारमा गिरावट आएर घरजग्गा रजिष्टे«शनवाफत एक अर्व १५ करोड ८० लाख मात्र राजस्व संकलन भएको देखिएको हो।

गत वर्ष घरजग्गा कारोवार बढेर राजस्व संकलन ५२ दशमलव शून्य ४ प्रतिशतले बढेको थियो। समिक्षा अवधिमा घर÷भवन नक्सा पास संख्या तीन दशमलव १३ प्रतिशतले घटेको छ। गत वर्षको सोहि अवधिमा घर, भवन नक्सा पास सख्या २६ दशमलव १७ प्रतिशतले बढेको थियो।

समिक्षा अवधिमा कैलालीमा सबैभन्दा बढी एक हजार तीन सय ७७ वटा घर/भवन नक्सा पास भएका छन भने बाजुरा र दार्चुला जिल्लामा घर÷भवन नक्सा पास भएको छैन्। पछिल्लो समय पहाडी जिल्लाहरुमा समेत बैंकिङ प्रयोजनका लागि घर नक्सा पास गर्ने प्रचलन बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ।

दार्चुला जिल्लामा समिक्षा अवधिमा घर नक्सा पास नभएका तर अभिलेखिकरण मात्र भएको देखिएको छ। बाजुरामा नक्सापास गर्ने प्रचलन विगतमा समेत नरहेकाले समिक्षा अवधिमा पनि नक्सा पासको संख्या शून्य छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले घर जग्गामा प्रवाह हुने कर्जा घटाउँदै लगेका कारण घरजग्गाको कारोवार घट्दै गएको छ। घरजग्गाको कारोवार सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा हुँदै आएकोमा पछिल्ला केहि समययता यस्तो कारोवारमा निरन्तर गिरावट आइरहेको छ।

कमेन्ट लोड गर्नुस