सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिउँदै रहेका मटेलीको नाम शहीदको सूचीमा

२०७९ चैत्र ४, ०८:३७ खबर संवाददाता

डोटीः डोटी जिल्लाका  जिउँदै रहेका एक पुरषको नाम सरकारले सार्वजनिक गरेको शहीदको सुचीमा आएको छ।

डोटीको बडीकेदार गाउँपालिका–२ साविकको –९ बर्छैन गाउँ विकास समितिका ५९ बर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा छ। फागुन १५ गते सरकारले सशस्त्र बिद्रोहका साथै विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई सम्मान स्वरुप शहीद घोषणा गर्ने निर्णय गरेको थियो।फागुन २९ गते प्रकाशित राजपत्रमा जिउँदा व्यक्ति मटेलीलाई पनि शहीदको सूचीमा राखिएको पाइएको हो।

डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जनामध्ये मटेलीको नाम ४२ औं नम्बरमा छ। राजपत्रमा २०५९ साल बैशाख १९ गते मटेलीको मृत्यु भएको उल्लेख छ। मटेली २०५९ साल वैशाख १९ गते बर्छैनको छेडामा तत्कालीन शाही नेपाली सेनाले गरेको आक्रमणमा परी घाइते भएका थिए। उनको घाँटी, मुख र पाखुरामा गोली लागेको थियो। उनी भन्छन् ‘मलाई म¥यो भनेरै छोडेका हुन्, तर म जिउँदै रहेछु।’आफूलाई छाक टार्ने व्यवस्था गरिदिनु प¥यो भनेर पटक पटक सबै पक्षलाई अनुरोध गर्दा पनि कसैले नसुनेको उनको गुनासो छ।

नेकपा माओवादी केन्द्र डोटीका संयोजक कमलबहादुर गड्सिला चक्रबहादुर मटेलीको नाम त्रुटिवश शहीदको सूचीमा समावेश भएको हुन सक्ने बताए। ‘हामीले नामावली तयार गरेर पठाउन साथीहरुलाई जिम्मा दिएका थियौं, काम गर्ने क्रममा केही तलमाथि भयो होला, हामी सच्याउँछौं’ उनले भने।
 

कमेन्ट लोड गर्नुस