सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरमा थारू समुदायका १२ प्रतिशतलाई सिकलसेल, कसरी लाग्छ यो रोग?

२०७९ चैत्र ३, १०:१६ खबर संवाददाता

धनगढीः पश्चिम तराइका थारु समुदायमा वंशाणुगत रूपमा फैलिँदै गरेको सिकलसेल एनेमियाको उपचार प्रभावकारी हुन सकेको छैन। सरकारले परीक्षण र उपचार निःशुल्क घोषणा गरे पनि जनचेतना अभाव, गरिबी, तथा स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा सिकलसेल एनेमिया रोगीको उपचार प्रभावकारी बन्न नसकेको हो।

कैलाली श्रीपुरकी ३० वर्षीया शारदा चौधरी ४ वर्ष अघि शरीर दुखेर हिड्नै नसक्ने समस्याले ग्रस्त भइन। उपचारका लागि नेपाल र भारतका थुप्रै अस्पताल धाउँदा धाउँदै भएको जायजेथा सकियो। तर निको भएन। बरु दुई वर्षपछि नेपालमै थप जाँच गराउँदा सिकलसेल एनेमिया देखियो।

थारु समुदायका अधिकांश बस्तीमा यस्तै समस्या छ। कैलाली र कञ्चनपुरमा मात्रै हालसम्म करिब १२ सय जनामा सिकलसेल रोग देखिएको छ। सिकलसेल एनेमिया वंशाणुगत रोग हो। कपिलवस्तुदेखि कञ्चनपुरसम्म थारु समुदायका अधिकांशमा यो रोग देखा परेको छ। चिकित्सकका अनुसार सिकलसेल रोगले बिरामीको मस्तिष्कदेखि अरू अङ्गलाई प्रभावित गर्दछ।

हातखुट्टा लगायत शरीरका हड्डी दुख्ने, रक्तअल्पता, जन्डिस लगायतका समस्या भोग्नुपर्ने बाध्यता भए पनि नेपालमा दीर्घकालीन उपचारको व्यवस्था हुन सकेको छैन। सिकलसेलका बिरामी बढ्दै गएपछि सरकारले निःशुल्क परीक्षणको व्यवस्था गरेको छ। २०७१ सालदेखि पहिचान भएका बिरामीलाई एक लाख रुपैयाँ बराबरको उपचार खर्च दिन थालेको छ। प्रदेश सरकारले पनि थप आर्थिक सहयोग गर्ने निर्णय भएको छ। रोग नियन्त्रणको उपाय पत्ता नलाग्नु मुख्य समस्या हो। 
सिकलसेल एनिमिया के हो, किन हुन्छ?
सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो। यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउदै लैजान्छ। सिकलसेल एनिमिया भएमा शरीरमा रगत बन्ने प्रक्रिया ढिलो हुन्छ, जसका कारण शरीरमा विभिन्न समस्या निम्तन्छ। एक पटक शरीरमा यो प्रणाली विकास भएमा एक देखि पचास वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखा पर्न सक्दछ।

सामान्य अवस्थाको रातो रक्तकोषिका गोलो र चिव्लो हुनुका साथै यसको आयु एक सय २० दिनको हुन्छ। जबकी सिकलसेल एनिमिया भएको व्यक्तिमा रक्तकोष हसिया आकारको (विकृत) हुन्छ। यस्तो विकृत रक्तकोषको आयु पनि दश देशदेखि बीस दिनको मात्र हुन्छ। एकातिर रगत ढिला बन्ने र अर्को्तितर बनेको रक्तकोषको आयु छोटो हुदाँ सिकलसेल एनिमिया भइसकेपछि शरीरको विभिन्न महत्वर्पूर्ण अंग र प्रणालीमा यसको प्रभाव देखिन थाल्दछ।
१२ प्रतिशत थारु समुदाय प्रभावित
सिकलसेल एनिमियाबाट सुदूरपश्चिमका करिब १२ प्रतिशत थारू प्रभावित भएको देखिएको छ। सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालले गरेको सर्वेक्षणमा सुदूरपश्चिमको कुल जनसंख्याको १७ दशमलव ५ प्रतिशत रहेको थारू समुदायको झन्डै १२ प्रतिशत सिकलसेलबाट प्रभावित रहेको देखिएको हो। सरकारको सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारी अस्पतालमा निःशुल्क उपचार गराएका बिरामीमा गरिएको सर्वेक्षणमा उपचारका लागि अस्पतालसम्म पुग्ने बिरामीको संख्या भने न्यून रहेको पाइएको छ। सिकलसेल एनिमियाको उपचारका लागि सुदूरपश्चिमका अस्पतालमा पुगेका बिरामीको संख्या प्रभावितको तुलनामा न्यून रहेको पाइएको छ।
उपचार गराउनेको संख्या
हालससम्म सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र घोडाघोडी अस्पतालमा जम्मा एक हजार दुई सय पाँच बिरामीले उपचार गराएका छन्। जसमध्ये सेती प्रादेशिक अस्पतालमा आठ सय ३६ जना, महाकाली अस्पतालमा आठजना र घोडाघोडी अस्पताल मा तीन सय ६१ जनाको उपचार भइरहेको हो।

पछिल्लो समय उपचारका लागि अस्पताल पुग्नेको संख्यामा वृद्धि भए पनि अझैसम्म प्रभावित संख्याको तुलनामा उपचारमा न्यून संख्यामा मात्रै पहुँच रहेको साइमनका अध्यक्ष डाक्टर अरुण मास्केले बताएका छन्। सुदूरपश्चिममा नेपालका विशेषज्ञ चिकित्सकहरूले सिकलसेल एनिमिया व्यवस्थापनमा गरेको कन्फ्रेन्स प्रतिवेदनले रोगले निम्त्याउने जटिलताको उपचार नहुँदा जोखिम घटाउन नसकेको देखाएको छ। प्रतिवेदनका अनुसार दुखाइ र यससँग सम्बन्धित सिन्ड्रोम, एक्युट चेस्ट सिन्ड्रोम अर्थात् खोकी, छाती दुखाइ, श्वास फेर्न समस्या, शरीरको तापक्रममा गडबडीजस्ता लक्षण अस्पताल भर्नादर र मृत्युको मुख्य कारण रहेको देखाएको छ।

कमेन्ट लोड गर्नुस