डोटीको बोगटान फुड्सिल गाउँपालिका साक्षर पालिका घोषणा
डोटीः डोटी जिल्लामा एक गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ।
डोटीको बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको हो। यसअघि पालिकाका सात वटै वडालाई साक्षर वडा घोषणा गरिएको थियो। सम्पुर्ण वडालाई साक्षर गरेपछि मंगलवारमात्र पालिकालाई एक कार्यक्रमका बिच साक्षर पालिका घोषणा गरिएको हो।
मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्यूनता भन्ने मर्मका साथ गाउँपालिकालाई जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर सिंहले पालिकालाई साक्षर घोषणा गरेका हुन। पालिकामा १५ देखि ६० वर्ष उमेर समूहका ९७.१० प्रतिशत नागरिक साक्षर भएपछि साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए। पालिका साक्षर घोषणा भएपछि साक्षर घोषणा गर्न सघाउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए।
वडाहरुमा पालिकाले गरेको सर्वेक्षण अनुसार सिमचौरको साक्षरतादर सबैभन्दा बढी छ,भने, धिर्कामाण्डौको सबैभन्दा कम रहेको पाइएको छ। वडा नम्बर १ सिमचौरको साक्षरता प्रतिशत ९७.५१, वडा नम्बर २ केदारअखडाको ९६.२७, वडा नम्बर ३ कानाचौरको ९६.७१, वडा नम्बर ४ सातफरीको ९७.२ प्रतिशत रहेको छ। त्यस्तै वडा नम्बर ५ धिकांमाण्डौको ९६.८, वडा नम्बर ६ गगुडाको ९७.४५ र वडा नम्बर ७ चवराचौताराको ९७.१५ प्रतिशत साक्षर दर रहेको छ।