सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिनियाँ पर्यटकका लागि नेपाल खुला

२०७९ फाल्गुन २८, ०७:२२

काठमाडौँः चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि समावेश गरेको छ। 

चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूची सार्वजनिक गरेको हो। 

फागुन १ गतेदेखि पर्यटकका रूपमा जान पाइने सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटक एकल र समूहगत रूपमा नेपाल घुम्न आउने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार शुक्रवार नेपालका लागि चीनका राजदूत छन सोङसँगको शिष्टाचार भेटमा चीनका विभिन्न सहरबाट सिधा उडान खोल्ने र चीनले नेपाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा अगाडि सारेकोबारे छलफल भएको छ।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने, “भारतपछि धेरै नेपाल आउने पर्यटकमा चिनियाँ पर्यटक हुन्। पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या सन्तोषजनक रूपमा बढ्दै जाँदा चीनले समेत प्रतिबन्ध खुला गरेपछि अब नेपाली पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गरेका छौँ।”

चीनले कोरोना महामारीको नियन्त्रणको उपाय भन्दै सन् २०२० को जनवरी अन्त्यदेखि लागू हुने गरी आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाउँदै आएको थियो। पर्यटकीय सूची सार्वजनिक गर्नुअघि नै नेपाल र चीनबीचको हवाई सेवा भने आंशिक रूपमा खुला गरिएको छ।

हाल नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौँबाट खुनमिङ (कुनमिङ)मा हप्तामा दुई र राजधानी बेइजिङमा एक उडान गरिरहेको छ। 

त्यसैगरी एयर चाइनाले छन्तु–काठमाडौँ रुटमा हप्तामा दुई उडान गरिरहेको छ। त्यसैगरी चाइन साउदर्न एयरले हप्तामा एक पटक काठमाडौँ–क्वाङ्चौ (ग्वान्झाउ)मा उडान गरिरहेको छ।

कोरोना महामारीका सिछुवान एयरले हप्तामा चार र तिब्बत एयरले पनि हप्तामा दुई उडान भर्दै आइरहेका थिए। सिचुवानले फागुन ६ गतेदेखि उडान तयारी गरेको छ । नेपाल आउने पर्यटकको सङ्ख्या सबभन्दा बढी भारतपछि चीन रहेको थियो। 
पछिल्लो समय न्यून चिनियाँ पर्यटक नेपाल आउने गरेका छन्। सन् २०२३ को जनवरीमा एक हजार ४३६ र दुई हजार २३२ जना चिनियाँ पर्यटक नेपाल आएका छन्।  गोरखापत्र

कमेन्ट लोड गर्नुस