सुदूर नेपाललाई विश्वसँग जोड्दै

सी जिनपिङ लगातार तेस्रोपटक चीनको राष्ट्रपति

२०७९ फाल्गुन २६, ०५:११ खबर संवाददाता

एजेन्सीः सी चिनफिङ लगातार तेस्रोपटक चीनको राष्ट्रपति बनेका छन्।

शुक्रबार चिनियाँ संसद नेसनल पिपुल्स कंग्रेस (एनपीसी) का लगभग ३ हजार सदस्यले सीलाई सर्वसम्मतिले राष्ट्रपतिको रूपमा चयन गरेका हुन्। ६९ वर्षका सीका अगाडि कोही पनि उम्मेदवार खडा नभएपछि सबै सदस्यले उनलाई भोट गरेका थिए। भोटिङ प्रक्रिया १ घण्टासम्म चल्दा नतिजा १५ मिनेटमै आएको थियो। यससँगै सी माओत्से तुङपछिकै शक्तिशाली चिनियाँ नेता बन्न सफल भएका छन्।

चीनको पहिलो सर्वोच्च नेता माओपछि पहिलोपटक सी यति लामो समयसम्म कम्युनिस्ट पार्टीको शीर्ष नेताको रूपमा पदमा बहाल छन्। माओ तीन दशकसम्म सत्तामा थिए भने सी शक्तिमा आएको १० वर्ष पूरा भएको छ। सन् २०१८ मा एनपीसीको बैठकले पार्टी अध्यक्षको दुई कार्यकाल नियमलाई हटाइदिएको थियो। यसको अर्थ अब सीलाई आजीवन पार्टीको सर्वोच्च पदमा रहिरहन सक्ने सुविधा छ।

यसरी उनी नै आजीवन राष्ट्रपति बन्न सक्नेछन्। तर, पश्चिमा विश्लेषकहरू भने सीका लागि राष्ट्रपतिको चुनाव औपचारिकतामा सीमित भएको बताउँछन्। एनपीसी शक्तिशाली संस्था भए पनि यसले चिनियाँ कम्युनिस्ट पार्टीको आदेश मान्ने गर्दछ।सीले चिनियाँ जनमुक्ति सेनाको कमाण्डरको रूपमा यसअघि अक्टोबरबाट नै काम गर्न थालिसकेका छन्।

यस्तै एनपीसीको बैठक समापन हुनै लाग्दा यो बैठकले सीएनएनका अनुसार शनिबार सीका सबैभन्दा भरपर्दा मित्र लि च्याङ प्रधानमन्त्रीको रूपमा चुनिँदैछन्। आज मात्र सीले रुचाएका हान चङ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् भने एनपीसी प्रमुखको रूपमा चाओ लेजी चयन भएका छन्।
 

कमेन्ट लोड गर्नुस