सुदूर नेपाललाई विश्वसँग जोड्दै

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान ५ दिन लम्बियो

२०७९ फाल्गुन २६, ०७:४२ खबर संवाददाता

काठमाडौं: सरकारले १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ। यसअघि २५ गतेसम्म औषधि खुवाइने भनिए पनि थप पाँच दिन समय थप गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार आउँदो ३० गते मङ्गलवारसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने छ।

गएको ११ गतदेखि झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन अभियान चलिरहेको छ। औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाएर खुवाइएको डाक्टर दासले बताए।

औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ । औषधिले शरीरमा हात्तीपाइलेको परजीवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउँछ । हात्तीपाइलेको लक्षण देखिएपछि औषधि खाँदा निको हुँदैन । त्यसैले रोग लाग्नु अगावै औषधि खान डाक्टरको सुझाव छ। हात्तीपाइले रोग विरुद्धको औषधि ६ वर्षसम्म लगातार वर्षमा एक पटक गरी ६ पटकसम्म खानु पर्छ।

औषधि खाएपछि केही व्यक्तिलाई ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने भन्दै ढुक्क भएर औषधि खान डाक्टरले सुझाव दिएका छन्। दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले भने यो औषधि खानु नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस