सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा महिलामाथि हुने विभेद भयावह, २४२ उजुरी दर्ता

२०७९ फाल्गुन १८, ०७:५१ अनिता चौधरी

धनगढीः विगत एक दशकदेखि प्रत्येक वर्ष मार्च १ गतेका दिन मनाउन सुरु गरिएको शून्य विभेद दिवस अहिले पनि जारी छ। सुदूरपश्चिममा जातिय विभेद तथा महिलामाथि हुने लैङ्गिक र घरेलु हिंसा घट्नुको सट्टा बढ्दै गएको प्रहरी तथ्यांक छ। कैलालीमा महिलामाथि हुने विभेद अझै भयावह छ।

चालु आर्थिक वर्ष सुरु भएको ८ महिना नपुग्दै २ सय ४२ लैङ्गिक र घरेलु हिंसा विरुद्धका उजुरी जिल्ला प्रहरी कार्यलय कैलालीमा दर्ता भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए। महिलामाथि हुने लैङ्गिक र घरेलु हिंसा लगायतका घटना न्युनिकरणका लागि आफुहरुले महा–अभियान नै सञ्चाल गरेको डीएसपी चन्दले बताए।

महिलामाथि हुने विभेद लगायत घरेलु हिंसा न्युनिकरणका लागि विभिन्न संघसंस्था तथा प्रहरीले काम गर्दै आए पनि प्रभावकारी रुपमा यस्ता घटनामा कमि आउन नसकेको प्रहरी तथ्यांकले देखाएको छ। महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि प्रहरीले समेत महाअभियानका कार्यक्रम सञ्चालन गर्दै आए पनि न्युनिकरण हुन सकेको छैन्।

महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। समाजमा हुने विभिन्न किसिमका विभेदले आफुहरुलाई असजिलो हुने गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक हकहितका लागि काम गर्दै आएको संस्था इपिक नेपालका कार्यक्रम संयोजक राजु लामाले बताए।

प्रशासनले पनि आफुहरुलाई नागरिकता दिँदासमेत लिङ्गको आधारमा दिँदा समस्या हुने गरेको उनले बताए। घरपरिवार, समाज र सरकारले पनि आफ्नो समुदायलाई खुलेर सहयोग नगर्दा समस्या हुने गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गुनासो छ।
शून्य भेदभाव दिवस २०७० देखि मनाउन सुरु गरिएको हो।

भेदभाव परापुर्वकाल देखि नै समाजमा जरा गाडेर बसेकाले न्युनिकरण गर्न नसकिएको सरोकारवाला बताउँछन्। कैलाली प्रहरीमा आर्थिक वर्ष २०७६/७७ मा ६१३, २०७७/७८ मा ७८५, २०७८/७९ मा ५७९ र चालु आर्थिक वर्षको हालसम्म थप २ सय ४२ उजुरी, महिला विभेद विरुद्ध परेको देखिएको छ।

अनिता चौधरी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस