सुदूर नेपाललाई विश्वसँग जोड्दै

'मुख्यमन्त्री शाहलाई विश्वासको मत मात्रै होइन दुई तिहाई समर्थन प्राप्त हुन्छ'

२०७९ फाल्गुन १७, ०५:३८ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टी पनि तयार भएको छ। यसअघि कसैलाई पनि विश्वासको मत नदिने अडान राख्दै आएको नागरिक उन्मुक्ति पार्टी यो पटक भने सरकारमा पनि सहभागी हुने तयारीमा जुटेको हो।

केन्द्रमा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँगै नागरिक उन्मुक्ति पार्टीको समेत समर्थन पाएर मुख्यमन्त्री शाहले दुई तिहाईभन्दा बढी समर्थन पाउने भएका हुन्। तर, माओवादी केन्द्रले प्याकेजमै सहमति खोजेकाले शक्ति बाँडफाँडका लागि केन्द्रमा नै सहमति खोजिने भएको छ।

यसअघिका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टी यो पटक भने सरकारमै सहभागी हुने तयारीमा जुटेको छ। पार्टीका संरक्षक रेशमलाल चौधरसहितका बन्दी रिहाइ हुने कुरा सुनिश्चित हुनुपर्ने माग नागरिक उन्मुक्तिको छ। नागरिक उन्मुक्तिले राजवन्दी रिहाइ हुने विश्वस्त आधार सरकारले दिनुपर्ने बताएको छ। पार्टी संरक्षकसहितका नेता जेलबाट छुट्ने आधार र विश्वास केन्द्र सरकारले दिए प्रदेश सरकारलाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए।

'पार्टीको केन्द्रमा कुराकानी र छलफल भइरहेको छ,' उनले भने, 'पार्टी संरक्षक रेशमलाल चौधरी र अन्य राजवन्दी रिहाइ हुने सुनिश्चित भए हामी विश्वासको मत दिएर सरकारमा पनि सहभागी हुने भन्ने नेतृत्वले बताएको छ।'

१९ जना प्रदेश सभा सदस्य भएको नेपाली काँग्रेससँगै ४ जना प्रदेश सभा सदस्य भएको नेकपा एकिकृत समाजवादी अहिले सरकारमा छन्। नेकपा माओवादी केन्द्रसँग सभामुख सहित ११ जना प्रदेश सभा सदस्य छन् भने एक जना स्वतन्त्रको पनि वर्तमान सरकारलाई सर्मथन रहेको छ।

केन्द्रमा बनेको गठबन्धन प्रदेशमा पनि कायम हुने परिपारटी रहेकाले प्रदेश सरकारमा सामेल हुन र विश्वासको मत दिन दलहरूले शक्ति बाँडफाँडको टुङ्गो पहिला लगाएर मात्रै विश्वासको मत दिने र सरकारमा सहभागी हुने भएका छन्। सरकारमा सहभागी हुने कुरा प्याकेजमै सहमति हुनुपर्ने माग नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलको छ। नागरिक उन्मुक्तिले नेताहरूको रिहाइ हुनुपर्ने ग्यारेन्टी खोजे जस्तै माओवादी केन्द्रले पहिले शक्ति बाडफाँटमा सहमति खोजिनुपर्ने प्रदेश संसदीय दलका नेता खगराज भट्टले बताए।

'हामीले सबै कुराको सहमति प्याकेजमै हुनुपर्छ भनेका छौँ त्यसका लागि केन्द्रमा नै टुङ्गो लगाउनुपर्ने हुन्छ,' उनले भने, 'विश्वासको मत दिने र सरकारमा सहभागी हुन कुन-कुन मन्त्रालय क-कसले लिने भन्ने टुङ्गोसमेत लगाएर आइतवारसम्म विश्वासको मत दिने भन्ने टुङ्गो लाग्छ।'

नागरिक उन्मुक्तिको ग्रीन सिग्नल र माओवादी केन्द्रमै सत्ता साझेदार दल भएकाले नेपाली काँग्रेस विश्वासको मत पाउने कुरामा पूरै विश्वस्त देखिएको छ। सरकारलाई विश्वासको मत सिद्ध गर्न २७ मत भए पुग्ने भए पनि मुख्यमन्त्री शाहलाई ऐतिहासिक समर्थन जुट्ने देखिएको छ।

५३ सदस्यीय प्रदेश सभामा यो पटक मुख्यमन्त्री शाहको पक्षमा ४१ जना प्रदेश सभा सदस्यको समर्थन जुट्ने सम्भावना बढेको छ। सरकारले विश्वासको मत पाउने कुरामा नेपाली काँग्रसे ढुक्क रहेको प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसका प्रदेश महामन्त्री मेघराज खड्काले बताए। 'यो पटक विश्वासको मत मात्रै होइन् सरकारलाई दुई तिहाइभन्दा बढी समर्थन प्राप्त हुन्छ,' उनले भने, 'वर्तमान मुख्यमन्त्रीले विश्वासको मत ढुक्कसँग पाउनु हुन्छ, कहिले लिने भन्ने कुरा मात्रै हो।'

विश्वासको मत लिन नसकेपछि एमालेका राजेन्द्रसिंह रावलको सरकार गत माघ २६ गते ढलेसँगै ठुलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका काँङ्ग्रेसका कमलबहादुर शाहले फागुन २५ गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ। तर, राष्ट्रपति निर्वाचनका लागि प्रदेश सभा सदस्यहरूले काठमाडौं जानुपर्ने भएकाले मुख्यमन्त्री शाहले नागरिक उन्कुक्ति र नेकपा माओवादीसँग केन्द्रमा समझदारी हुने वित्तिकै विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव पेस गर्ने भएका छन्। 
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस