सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा दुई वर्ष पनि टिकेन गाउँपालिकाले जडान गरेका सौर्यबत्ती

२०७९ फाल्गुन १७, ०६:०१ खबर संवाददाता

दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा जडान गरिएका सौर्य बत्ती दुई वर्ष नपुग्दै बिग्रिएर थन्किएका छन्। गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा १४ वटा सौर्यबत्ती जडान गरेको थियो। ती बत्ती दुई वर्ष नपुग्दै बिग्रीएको मालिकार्जुन–३ का गोविन्द धामीले बताए। 

गाउँपालिकाको रु आठ लाख तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु १२ लाख गरी कुल रु २० लाखको लगानीमा बत्ती जडान गरिएका हुन्। बत्ती बिग्रिँदा पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन्। सौर्य बत्तीका साथै राष्ट्रिय धाम मालिकार्जुन मन्दिर परिसर भित्र जडान गरिएका सिसी क्यामेरासमेत काम गर्न छाडेको मालिकार्जुन विकास समितिका सचिव जनकसिंह धामीले बताए।

मालिकार्जुन–३ को मालिकार्जुन मन्दिर, लटिनाथ मन्दिर चौड, शिलगैर बजार क्षेत्र तथा मड र भौतडीको भण्डारी घर भएका क्षेत्रमा जडान गरिएका सबै सौर्य बत्ती बिग्रिएका छन्। राष्ट्रिय धाम मालिकार्जुन मन्दीर क्षेत्रमा आउने तिर्थालुको सहजताका लागि जडान गरिएका सौर्य बत्ती बिग्रीएको लामो समय हुँदासमेत मर्मतका लागि कसैले चासो नदेखाएको मालिकार्जुन मन्दिरका मुखिया धीरेन्द्रसिंह धामीले बताए।

'धेरै सामान त चोरी समेत  भएको छ,' उनले भने । सौर्य बत्ती मर्मतका लागि पटक पटक गाउँपालिकालाई आग्रह गर्दैआएको धामीले बताए। रासस

कमेन्ट लोड गर्नुस