सुदूर नेपाललाई विश्वसँग जोड्दै

हङकङ ९ विकेटले पराजित ,यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

२०७९ फाल्गुन १५, ०५:०३ खबर संवाददाता

काठमाडौंः आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ।

युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा ग¥यो। नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए। यस्तै उत्तम थापा मगरले अविजित ३९ रन बनाए। छक्का प्रहार गर्दै जिताएका आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे। ५० बल खेलेका उत्तमले ४ चौका प्रहार गरे।

२६ रन जोड्दा नेपालले छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो। तर आकाशले उत्तम थापा मगरसँग दोस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए। ओपनर अर्जुन कुमालले १६ रन जोडे। टस जितेर पहिले ब्याटिङ गरेको हङकङ नेपाली बलरको कसिलो बलिङ सामु ४६.३ ओभरमा १२० रनमा अल आउट भएको थियो।

हङकङलाई अलआउट गर्न नेपालका हेमन्त धामी, सुबास भण्डारी र दिपेश कँडेलले शानदार बलिङ गरे। हेमन्तले ९ ओभरमा ३ मेडन राख्दै १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए। यस्तै किफायती बलिङ गरेका स्पिनर सुवास भण्डारीले १० ओभरमा ३ मेडन नै राख्दै जम्मा १० रन २ विकेट लिए।

अर्का स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए। आकाश चन्दले ८.३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए। सोमबार नै भएको अर्को खेलमा युएईले सिंगापुरलाई ८ विकेटले हराएर लगातार तेस्रो जित निकालेको छ।अपराजित नेपाल र युएईको ३ खेलबाट समान ६ अंक छ।

नेपालले अब अर्को खेल मलेसियासँग मंगलबार खेल्नेछ। नेपाल र युएईबीच अन्तिम खेल बिहीबार हुनेछ। सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष स्थानमा रहने छ टिम २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट हुनेछ।
 

कमेन्ट लोड गर्नुस