सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको उकु महल संरक्षणको पर्खाइमा

२०७९ फाल्गुन १५, ०४:५२

मानसिंह धामीः दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुको सिरानमा उकु महल भग्न अवस्थामा देख्न सकिन्छ। पुरातात्त्विक, प्राचीन र ऐतिहासिक महत्व बोकेको महलको भग्नावशेष पुनःनिमार्णको पर्खाइमा रहेको छ।

उकु महल निर्माणको समय बारे तथ्यपरक खोज अनुसन्धान भएको छैन। यसको निर्माण बारे खोज अनुसन्धान गर्नु र संरक्षण गर्नु राज्यको दायित्व भए पनि अहिलेसम्म राज्यको नजरसम्म पुगेको छैन।

अहिले सम्म उकु महल बारे अनुसन्धन गर्न अनुसन्धानबकर्ता, इतिहासविद्, संस्कृतिविद्, राजनीतिकर्मीले चासो दिएका छैनन्। राज्य स्वयंयले यस्ता ऐतिहासिक र पुरातात्त्विक पक्षको खोज अनुसन्धान गरि संरक्षण र जिर्णोद्वारका लागि अग्रसर हुनुपर्ने हो। तर अहिलेसम्म कुनै पहल भएको देखिदैन।

आफू इतिहासविद्, संस्कृतिविद् तथा पुरातत्वविद् नभए पनि एक नागरिकको हैसियतले महलको संरक्षण तथा जिर्णोद्वारका लागि कसैको ध्यानाकर्षण हुन्छ कि भनेर उकु महलको बारेमा केहि कुरा लेख्ने जमर्को गरेको छु।

अभय पालले डोटी राज्य स्थापना गरेको समय कुमाउँको इतिहास (बद्रीदत्त पाण्डे) मा सन् १२७९ (सम्वत् १३३६) लाई उल्लेख गरेको पाइन्छ। अभय पालले डोटी राज्यको स्थापना पश्चात त्यसलाई सुदृढीकरण गर्दै डडेल्धुरामा अजयमेरु दरवार निर्माण गरेपछि दार्चुलाको उकुक्षेत्रसम्म राज्य बिस्तार गर्दै उकु महल निर्माण गरेको इतिहासमा उल्लेख छ।

अभय पालले आठ खस राजाहरूलाई पाराजित गरेपछि मात्र अस्कोटक (अस्कोट हाल महाकाली पारि पिथौरागढ जिल्लामा पर्छ) राज्य स्थापना गरेका हुन्। यसरी अस्कोट विजय गर्नुपूर्व अभय पालले उकु महलको निर्माण गरेको इतिहासबाट स्पष्ट हुन्छ।

मध्यकालीन कत्युरी राजाहरूको राज्य अन्तर्गत पर्ने महत्वपूर्ण उक्त महल कुनै कारण भत्किन गई भग्नावशेषमा परिणत भएको किम्बदन्ती छ। सुदूरपश्चिम प्रदेशको एउटा ऐतिहासिक  पुरातात्त्विक प्राचीन सम्पदाको रुपमा रहेको यो महलको अध्ययन र संरक्षण नहुँदा एक पर्यटकीय गन्तव्य ओझेलमा परेको जिल्लावासीको बुझाइ छ।

उकु महलको अध्ययन, अन्वेषण, अनुसन्धान र उत्खनन् गर्न सकेमा यो एक ऐतिहासिक उपलब्धि हुने कुरामा दुई मत छैन। प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना रहेको छ। अध्ययन, अनुसन्धान, अन्वेषण र उत्खनन् गर्न नसकिएको यो महल ऐतिहासिक र पुरातात्विक सम्पदा हो भन्ने कुरामा पनि दुई मत छैन। यो महलसँग साक्षात्कार गर्ने जो कोही पनि महलको बनावट देखेर प्रभावित हुने गरेका छन्।

जिल्लाको ऐतिहासिक पहिचानको झल्को दिने दर्पणरुपी महलको संरक्षण गर्न सकेमा दार्चुलाको ऐतिहासिक र पुरातात्विक महत्व थप बढ्ने थियो। उकु महलजस्तो सम्पदा संरक्षण गर्न सकिएको आम दार्चुलेलीको गर्वले छाती ढक्क फुल्ने थियो।

उकु महल वरपर मात्रै होइन सिङ्गो उकु क्षेत्रमै ठुलो संख्यामा कलात्मक शिलाहरु यत्रतत्र छरिएको देख्न सकिन्छ। महल रहेको क्षेत्रमा विभिन्न देवीदेवताका मूर्तिहरु, आमलक, शिखर गजुरका अर्ध भागहरू, ढुङ्गेधारा, नाग, बसाह, सिंह, चक्रशिलासहित थरीथरीका आकृति कुदिएका शिलाहरू देख्न सकिन्छ।

उकुमा रहेको उकु महलको प्रचारप्रसार र अनुसन्धान हुन नसक्दा ओझेलमा परेको छ। पुरानो दरबारको भग्नावशेषको रूपमा रहेको ठाउँको अध्ययन र अन्वेषण अहिलेसम्म नहुनुले उकु महलको संरक्षण थप ओझेलमा पर्ने देखिन्छ।
अहिले संरक्षणको पर्खाइमा रहेको उकु महल र उकु क्षेत्र मध्यकालीन कत्युरी राजाहरुको राजधानीको रुपमा वैभवको केन्द्र थियो भन्ने एक प्रमाण उकु महलको भग्नावशेषलाई लिन सकिन्छ।

कत्युरी राजवंशको अन्त्यपछि १२ औं शताब्दीमा पाल राजाहरुले अस्कोट, अजयमेरुकोट, दिपालयकोट लगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ।उकु महलको भग्नावशेष स्थलमा विभिन्न शिलालेख लेखिएका चट्टानहरु रहेका छन्। मध्यकालीन कत्युरी राजाहरुको राजधानी रहेको उकुमा कत्युरी राजाहरूले नै महल निर्माण गरेको इतिहास भेटिन्छ।

कत्युरी राजबंशको अन्त्यपछि १२ औं शताब्दीमा पाल राजाहरुले अस्कोट, अजयमेरुकोट दिपालयकोटलगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ। सर्वप्रथम रजवार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको इतिहासका जानकार बताउँछन्।

इतिहासबारे जानकारहरुका अनुसार नाग पाल राजाले दरवारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति शिलालेखहरु जम्मा गरेका थिए। अहिले सो क्षेत्रमा भेटिने सूर्यनारायणका मूर्ति, शिलालेखहरु हेर्दा दरवार भित्रको मन्दिर बनाउन जम्मा गरिएको हुन सक्ने ठम्याइ छ।

उकु ऐतिहासिक महत्वको स्थल हो भन्ने कुरा त्यहाँ भेटिने कोटघर, देवस्थल, दरवारको मजवुत किल्लाहरु,  ढुगांमा कुदिएका विभिन्न भगवानको मुर्तिहरु, विभिन्न आकृतिका ढुगांहरुबाट प्रष्ट हुन्छ।

दार्चुला जिल्ला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजहरुले पुष्टि गरेको छ। उकुको ऐतिहासिक सम्वन्ध सीमावर्ती भारतको अस्कोटसँग छ। अस्कोटको इतिहासअनुसार सन् १२७९ मा अभय पाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए। अभय पालले वरपरका विभिन्न अस्सी कोटको एकीकरण गरेर अस्कोट नामाकरण गरेको इतिहासमा उल्लेख छ।

निरै पालको ऐतिहासिक अभिलेख डोटी डडेल्धुरा, पिथौरागढको डिडिहाट  र अल्मोडामा पनि भेटिएको छ। नेपालमा भेटिएको अभिलेख अनुसार निरै पालको राज्यकाल सन् १३५२ देखि सन् १३६२ सम्म थियो। अल्मोडाको पहाडमा निरै पाल लेखिएको ढुंगा सन् १३५४ भेटिएको छ भनेर इतिहासका जानकारहरु बताउँछन्।

यी सबै ऐतिहासिक काल क्रमहरु समान देखिएकोले उकु भग्नावशेषमा निरै पालको ऐतिहासिकता र राज्यकालबारे शंका गर्ने ठाउँ नभएको जानकारहरु बताउँछन्। निरै पाललाई उकु अस्कोटका राजा भनिएको छ। विभिन्न ठाँउहरुमा पाइएको ऐतिहासिक अभिलेखहरुले निरै पाल शक्तिशाली राजा भएको संकेत गर्छ। जसको केन्द्र महाकाली किनारमा अवस्थित उकु भएको कारणले यो स्थलको पुरातात्विक महत्वलाई वेवास्ता गर्न सकिदैन। निरै पाल उकुका रजवार भारती पालका पूर्ववर्ती राजवार थिए भन्ने कालक्रमहरुले प्रष्ट्याएको छ।

उकुको इतिहास सम्बन्धी एउटा लेख अनुसार उकु कोटको खण्डहरुमा रहेको हरिहर मन्दिर नाग पालका तीनवटा रानीहरुले निर्माण गराएका थिए। नाग मल्ल डोटीका राजा थिए। डोटीको राजधानी हालको डडेल्धुरा जिल्लाको अजयमेरुकोटमा रहेको थियो। नाग मल्लको राज्यकाल लगभग सन् १३८४ देखि सन् १३९३ सम्म रहेको थियो। यसलाई आधार मान्ने हो भने माथि उल्लेख गरिएको उकुको हरिहर मन्दिर नाग मल्लको राज्यकालमा बनेको अनुमान गर्न सकिन्छ। तर, मन्दिर स्थापनाको स्पष्ट तिथि मिति भने भेटिएको भने छैन।

तर, पाल वंशहरुको भरतीय शोधकर्ताहरुले उकु राज्य अभय पालले स्थापना गरेको नभएर नाग मल्लले गरेको उल्लेख गरेका छन्। यसको प्रमाणको रुपमा सन् १२३८ को उकुको शिलालेख हो भनिएको छ। आचार्य शिवप्रसाद डवरालको 'उत्तराखण्डका ईतिहास' भन्ने पुस्तकमा १०८० देखि १०९० ईसा पूर्वमा उकुको दरबार निर्माण भएको कुरा उल्लेख गरिएको छ।

१६ औं शताब्दीमा पाल राजाले निर्माण गरेको उक्त दरबार क्षेत्रमा अहिले पनि विभिन्न आकृतिमा कुदिएका मूर्तिहरु देखिन्छन्। तर भग्नावशेष महलको उत्खनन् र खोजी नीति नहुँदा ओझेलमा परेको छ। यस क्षेत्रमा सयौं मूर्तिहरु र शिलालेखहरु भेटिने गरेका छन्। (लेखक कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्)

  स्रोत :
-  पन्त, दयाकृष्ण (२०६७), दार्चुलाको इतिहास, महेन्द्रनगर ।
- जिल्ला प्रशासन कार्यालय दार्चुला वेभ साइट ।
- गुगल र अन्य सामाजिक सञ्जाल ।
 

कमेन्ट लोड गर्नुस