पपुवा न्यूगिनीविरुद्ध नेपालले पायो २०४ रनको लक्ष्य
काठमाडौंः आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा सुरु शृखंलाको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ।
बलिङमा राम्रो सुरुवात गरेपनि नेपालले डेथ ओभरमा त्यसलाई कायम राख्न नसक्दा पीएनजीले २०० रन कटाएको थियो। पीएनजीले अन्तिम पाँच ओभरमा ४३ रन जोडेको थियो। दुबई इन्टरनेसनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनायो।
सुरुको ३० ओभरमा १०० रन बनाएको पीएनजीले त्यसपछि २० ओभरमा १०३ रन बनाएको थियो। पीएनजीका लागि सातौं नम्बरमा ब्याटिङ गरेका चाड सपर र कप्तान असद भालाले सर्वाधिक ३६–३६ रन बनाए। यस्तै सेस बाउले ३१, किपलिन डफरिगाले २९ र नोर्मन भानुअले २५ रन बनाए । हिरी १० रन बनाएर आउट भए।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ३ विकेट लिए। ९ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए। कुशल मल्लले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए। सोमपाल कामी, करण केसी र डेब्युटान्ट प्रतिश जिसीले समान १ विकेट लिए। सोमपालले ६ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चिए। करणले ९ ओभरमा २ मेडन राख्दै ३० रन खर्चिए।
नेपाली बलरहरुमध्ये केही महँगा बनेका प्रतिशले पहिलो खेलमा ६ ओभर बलिङ गर्दा ३७ रन खर्चिए।