सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा महिला क्रिकेटर सम्मानित

२०७९ फाल्गुन १३, ०५:०३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) को रजत जयन्तीको उपलक्ष्यमा राष्ट्रिय महिला क्रिकेटरलाई सम्मान गरेको छ।

इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको उपाधि जित्दै इतिहास रचेको सुदूरपश्चिम टोलीका चार महिला क्रिकेटरलाई नगदसहित सम्मान गरिएको हो।

सम्मानित हुनेमा कविता कुँवर, ईश्वरी विष्ट, मनीषा चौधरी र रुवि पोदार छन्। प्रधानमन्त्री कप फाइनलको अन्तिम ओभरमा जितनिम्ति ८ रन आवश्यक हुँदा एसपीएमा अध्ययनरत कविताले लगातार दुई छक्का प्रहार गर्दै सुदूरपश्चिमलाई पहिलोपल्ट महिला राष्ट्रिय क्रिकेटको उपाधि दिलाएकी थिइन्।

दुई वर्षअघि मलेसियामा सम्पन्न पाँचौं गोजुरियो विश्व कराते च्याम्पियनसिपमा रजत पदक जितेका एसपीएकै विद्यार्थी कमल ओलीलाई सम्मान गरियो। उनीहरूलाई सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, एसपीएका अध्यक्ष योगेन्द्रबहादुर शाही, प्रबन्ध निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मानित गरेका थिए। साथै कलेजले शिक्षा र सामाजिक क्षेत्रका एक दर्जन व्यक्तित्वलाई समेत सम्मान गरेको हो।

कमेन्ट लोड गर्नुस