सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन चर्काउने चेतावनी

२०७९ फाल्गुन ९, ०७:११ नारायण अवस्थी

धनगढीः बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी व्याजदर बढाएको भन्दै व्यवसायीहरूले धनगढी र अत्तरियामा प्रदर्शन गरेका छन्।

उद्योग वाणिज्य संघ कैलाली र अत्तरियाको नेतृत्वमा भएको प्रदर्शनमा व्याजदर नघटाइए आन्दोलन चर्काउने चेतावनी दिइएको हो। चर्को व्याजदर घटाएर समस्या समाधान गर्न सरकार गम्भीर नभए व्यवसायीहरूले थप आन्दोलन चर्काउने चेतावनी दिएका हुन्।

बैंक तथा वित्तीय संस्थाको अचाक्ली व्याजदरका कारण व्यवसाय धराशायी हुँदा आन्दोलन गर्नुपरेको कैलालीका व्यवसायीहरूले बताएका छन्।आर्थिक मन्दी चलिरहेको समयमा बैंक तथा वीत्तीय संस्थाहरूले चर्को व्याज असुली गरेको भन्दै व्यवसायी अन्दोलित हुनु परेको अत्तरिया उद्योग वाणिज्य संघकका अध्यक्ष अशोकराज देवकोटाले बताए।

'बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुल्न थालेपछि हामीहरू आन्दोलन गर्न बाध्य भएका हौँ,' उनले भने, 'सरकारले माग पूरा नगरे सशक्त आन्दोलन गर्ने तयारी गरेका छौँ।' धनगढीमा उद्योग वाणिज्य संघसहित विभिन्न ११ संघ संस्था र अत्तरियमा, अत्तरिया उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायी विरोधमा उत्रिएका हुन्।

मङ्गलवार सांकेतिक विरोध गरिएको र व्याजदरका कारण व्यवसायी पालायन हुन थालेका धनगढी होलसेल व्यवसायी संघका अध्यक्ष देवराज पाण्डेयले बताए। 'चर्को व्याज र राज्यको व्यवसायी पेल्ने नीतिका कारण धेरै व्यवसायी पालायन हुनुपर्ने अवस्था आएको छ,' उनले भने, 'व्याजदरका कारण घर खेत लिलाम हुने अवस्थामा पुगेको छ।

यस्तोमा हामीलाई राज्यले काम गरिखाने विकल्प दिनु पर्यो। हाम्रो बिचल्ली हुँदैछ।' बैंकहरुले ८ प्रतिशतमा दिएको ऋणको व्याजदर बढाएर अहिले १६ प्रतिशतसम्म पुर्याउदा व्यवसाय धराशायी हुँदै गएको व्यवसायी रोसन पन्तले बताए।

बैंक तथा वित्तीय संस्थाहरुले मनलाग्दी व्याजदर बढाएपछि व्यवसायीहरु पलायन हुने क्रम बढ्न थालेको धनगढी होलेसेल व्यवसायी संघका पूर्व अध्यक्ष तिलकचन्द्र खतिवडाले बताए। यस्तै,वैंक तथा वित्तीय संस्थाहरुले व्याजदरका नाममा कालोबजारी गरिरहेको आरोप होलसेल व्यवसायी संघका महासचिव यमनाथ सिग्देलको आरोप छ।

गएको असारअघि १ अंकले ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाहरुले अहिले दुई अंकले ब्याजदर बढाएर कालोबजारी गरिरहेको गुनासो व्यवसायीहरूको छ। ऋण निकाल्दा ८ प्रतिशत व्याजदरमा लिएको तर अहिले १६ प्रतिशत पुगाउँदा व्यवसायी मर्कामा परेको उपभोक्ता अधिकारकर्मी हरि रेग्मीले बताए।

'बैक तथा वित्तीय संस्थाले लगानी गर्दा ८ प्रतिशतमा ऋण दिए अहिले दोब्बर बनाएका छन्,' उनले भने, 'यस्तोमा व्यवसाय गरेर खान सक्ने अवस्था नै हुन्न। सरकारले ऋणको दर घटाउन हस्तक्षेप गर्नुपर्छ।' पटक पटक अर्थमन्त्री र सरकारलाई ज्ञापनपत्रसहित ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ नभएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले बताए।

'राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने निकाय हो तर गभर्नरले बैंकको भाषा बोलेका छन्,' उनले भने, 'हामी व्यवसायीलाई निचोर्ने गरि ल्याएका नीति, नियम परिवर्तन गर्नुपर्छ भन्ने हाम्रो माग हो।' कैलालीको धनगढी र अत्तरियामा भएका छुट्टाछुट्टै विरोध कार्यक्रममा विभिन्न वस्तुगत संघ संगठनहरुले पनि ऐक्यबद्धता जनाएका छन्।

व्यवसायीहरुका समस्या समाधन गर्न सरकारले समयमै हस्तक्षेप नगरे कैलालीबाट सुरू भएको आन्दोलन देशव्यापी फैलिने कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले चेतावनी दिएका छन्।

'बैंकहरूले जुन किसिमले व्याजदर ७/८ प्रतिशतबाट बढाएर १५/१६ प्रतिशत पुगाएका छन्।जसका कारण व्यवसायी प्रताडित भएका छन्,' उनले भने, 'चर्को व्याजको कारण व्यवसायी सडकमा आउने अवस्थामा पुगेका छन्। चर्को व्याजदर विरुद्ध हाम्रो यो आन्दोलन देशव्यापी फैलिने अवस्थामा छ।'

व्यवसायीहरूले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण समस्या भएको बताएका छन्। यसैगरी कर्जा नीतिमा पनि परिमार्जन हुनुपर्ने माग व्यवसायीले राखेका छन्। बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयको नीतिमा सुधारको आवश्यकता औल्याउदै १० बुँदे माग राखेर कैलालीका व्यवसायी आन्दोलनमा उत्रिएका हुन्। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस