‘केपी ओली कप २०२३’ को ट्रफी सार्वजनिक
काठमाडौँः नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको आयोजनामा हुन गइरहेको केपी ओली कप २०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको ट्रफी अनावरण र अफिसियल गीत सार्वजनिक गरिएको छ।
केपी ओली कप २०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन फागुन ११ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको छ। फुटबल प्रतियोगिता १७ गतेसम्म चल्ने र फाइनल प्रतियोगिता सोही दिन हुने राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए।
प्रतियोगितामा ८ वटा ए डिभिजनका समूहहरु सहभागि हुने उनले बताए। प्रतियोगितामा प्रथम हुने समूहलाई १० लाख , रनरअपलाई ५ लाख , बेस्ट प्लेयरलाई १ लाख , बेस्ट गोलकिपरलाई १ लाख, प्रत्येक म्यान अफ द म्याचलाई १५ हजार र प्रत्येक म्याचको विजेता टिमलाई २५ हजार रुपैयाँको दरले पुरस्कार राशी राखिएको छ।
अध्यक्ष पौडेलले केपी ओली राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष भएकाले उनको सम्मान गर्न र समकालीन नेताहरुमध्य ओलीले खेलकुद बुझेको र चासो राख्ने भएकाले उनको नाममा फुटबल प्रतियोगिता गर्न लागेको बताए। ओली समर्थकको ध्यानलाई खेलकुद क्षेत्रप्रति डाइभर्ट गर्न सकेमा खेलकुद क्षेत्रमा ठूलो लगानी र योगदान हुने सम्भावना बढ्ने भएकाले पनि यो प्रतियोगिता गरिएको उनले उल्लेख गरे।
यस प्रतियोगिताले अन्य राजनीतिक दलहरुका भ्रातृ संगठनलाई पनि प्रतियोगिता गर्न प्रेरित गर्ने र खेल क्षेत्रमा आर्थिक क्षेत्र चलायमान हुने उनले दाबी गरे। अध्यक्ष पौडेलले प्रतियोगिताको उद्घाटन खेल क्षेत्रका कुनै शिखर पुरुषले गर्ने बताएकाछन्।
केपी ओलीको नामबाट प्रतियोगिता आयोजना भएको भएपनि ओली भने दर्शक, फुटबल प्रेमी र शुभचिन्तकको रुपमा मात्र उपस्थित हुनसक्ने उनले बताए। प्रतियोगिताका लागि १ करोड ५० लाख रुपैयाँ बराबरको स्टमेट रहेको उनले बताए।