सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिँचाई व्यवस्थापनको बजेट कटौति, महाकाली कार्यालय खारेजीको संघारमा

२०७९ फाल्गुन ८, १०:१३

वीरेन्द्र भट्ट, धनगढीः आजभन्दा ५५ वर्षअघि स्थापना भएको महाकाली सिँचाई व्यवस्थापन कार्यालय प्रदेशकै ठुलो योजनामध्येको एक थियो।

किसानको खेतबारीमा सिँचाई सुविधा विस्तारसँगै मर्मत संभारका लागि भन्दै कञ्चनपुरमा यस प्रकारको कार्यालय स्थापना गरिएको थियो। सिँचाई सुविधाका लागि १० वर्षअघिसम्म विश्व बैंकको प्रोजेक्ट नै चलेको थियो। साथै नेपाल सरकारले समेत वार्षिक तीन करोडभन्दा बढी बजेट विनियोजन गर्दै आएको थियो। तर पछिल्लो समय सबै सिँचाईका योजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएपछि महाकाली सिँचाई व्यवस्थापन कार्यालय अहिले कामविहिन अवस्थामा छ।

उपभोक्ता समितिलाई सबै कार्यक्रम हस्तान्तरण गरिसकिएपछि कार्यालयसँग कुनै योजना तथा नयाँ कार्यक्रम नभएको महाकाली सिँचाई व्यवस्थापन कार्यालय कञ्चनपुरका सिनियर डिभिजन ईन्जिनियर ताराप्रसाद भट्टले बताए। ‘कार्यालयसँग सामान्य सिँचाई मर्मत, भौतिक संरचना टुटफुट सुधार लगायतका सामान्य योजना काम गर्दै आएकोमा यस वर्ष अर्थमन्त्रालयबाट बजेट नै कटौति भएपछि कार्यालयसँग कुनै त्यस्तो योजना छैन्।’

कञ्चनपुरका किसानले महाकाली सिँचाईको प्रभावकारी व्यवस्थापन नभएको बताउँदै आएका छन्। नहर संरचना भए पनि पानी नभएको र पानी भएको स्थानमा पनि पुरै बालुवा मात्र आउने गरेका कारण नहर सफाई गर्दा समेत समस्या समाधान हुन नसकेको किसानले गुनासो पोखेका हुन्। खेतमा काम गर्दा नहरमा पानी नहुने समस्या अहिले पनि कायमै रहेको किसानको गुनासो छ।

तर महाकाली सिँचाई व्यवस्थापन कार्यालयले भने स–साना टुक्रे योजनाबाहेक कुनै नयाँ कार्यक्रम नभएको बताएको छ। उपभोक्ता आफैले सिँचाइको व्यवस्थापन गर्ने गरी योजना हस्तारन्तरण भएकाले किसानका समस्या हल गर्न नसकिएको कार्यालयको दाबी छ। सरकारले यस वर्ष सिँचाई व्यवस्थापनका लागि बजेट नै कटौती गरेपछि सिँचाईको आन्तरिक व्यवस्थापन एवं प्रणाली सुधार गर्न समस्या भएको हो।

कृषि उत्पादनका लागि प्रभावकारी सिँचाई व्यवस्थापन आवश्यक भए पनि कार्यालयले सामान्य सुधार र मर्मतबाहेकका काम गर्न सक्ने अवस्थामा छैन्। पहिले जस्तो किसानको खेतमा पानी पुगेको छ की छैन, सिँचाईका भौतिक संरचना कतै टुटफुट भएको छ की छैन लगायतका विषयमा यसअघि कार्यालयबाट काम हुँदै आएपनि पछिल्लो समय बजेट नै कटौति भएपछि काम गर्न नसकिएको कार्यालयले बताएको छ।

कञ्चनपुरमा रहेको महाकाली सिँचाई व्यवस्थापनका सबै कार्यक्रम उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकिएकाले कार्यालयको तर्फबाट उपलब्ध गराउन सकिने कुनै नयाँ कार्यक्रम छैन्। महाकाली सिँचाई व्यवस्थापन कार्यालय पछिल्लो समय औचित्य विहिनको अवस्थामा छ।

कमेन्ट लोड गर्नुस