सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालकोः लगातार तेश्रो जित

२०७९ फाल्गुन ६, ०५:३८ खबर संवाददाता

 काठमाडौँः आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार  नेपाल ३ विकेटले विजयी भएको छ।

आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नामिबियालाई ३ विकेटले पराजित गरेको हो। घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालको यो लगातार तेश्रो जित हो। नौ रनमै कुशल भुर्तेललाई गुमाएको नेपालका लागि आशिफ शेख र ज्ञानेन्द्र मल्लले १३९ रनको साझेदारी गरेका थिए। जसमा आशिफले ९८ बलमा ८१ रन र ज्ञानेन्द्रले ७४ बलमा ६५ रन बनाएका थिए।

त्यसपछि आएका कुशल मल्लले पनि नेपालका लागि अर्धशतक प्रहार गरे। उनले ४९ बलमा ६२ रन बनाए। त्यस्तै, रोहित पौडेलले ३९, सोमपाल कामीले आठ, सन्दीप जोराले तीन तथा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एकएक रन बनाए। नामिबियाका लागि रुबेन ट्रम्पेलमनले तीन, बेनार्ड स्कल्जले दुई र टंगेनी लुंगामेनी एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ६ विकेटको क्षतिमा २७४ रन बनाएको थियो।

नामिबियाका लागि जेन ग्रिनले ७५ रन बनाए। उनले ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे। त्यस्तै, पिक्की या फ्रेन्सले ४९, ह्यान्डी लोरेन्सले ४१, रुबेन टुम्पेलमनले २४, मिचेल भानलिंगेनले २२ र कार्ल ब्रिक्स्टोकले २० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन र करण केसीले एक विकेट लिए।नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ।

नेपालले शृंखलाको अन्तिम खेल मंगलबार स्कटल्यान्डसँग खेल्ने छ। जितसँगै नेपालले २७ खेलबाट लिग २ तालिकामा २४ अंक जोडेर छैटौं स्थानमा छ। नेपाललाई शीर्ष तीनमा पर्न बाँकी ९ वटै खेल जित्नु पर्ने दबाब छ।
 

कमेन्ट लोड गर्नुस