सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अतिक्रमित खोलानाला, चार वर्षभित्र सबै ‘रापसाफ’

२०७९ फाल्गुन २, ०६:४७ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरले खोलानालाको अतिक्रमण हटाउने अभियान पुनः सुरू गरेको छ। वडा नम्बर २ र ३ को बढी डुबान हुने क्षेत्रबाट अतिक्रमण हटाउने अभियान सुरु गरिएको हो।

चार वर्षभित्र नगर क्षेत्रभित्रको सबै अतिक्रमण ‘रापसाफ’ भइसक्ने उपमहानगरपालिकाले बताएको छ। २०२१ सालको नक्साको आधारमा खोलानाला, कुलो, नहर, ताल र बाटोको अतिक्रमण आगामी चार वर्षभित्रै खाली गर्ने उपमहानगरको योजना छ। भन्सार रोडमा रहेको रश्मि मेडिकल हलदेखि मोहना नदीसम्मको करिव ८ फिट चौडा र १ किलोमिटर लम्बाई रहेको पुरिएको नाला खन्न सुरु गरिएको छ।

पुरिएको नाला खोल्न दुईवटा डोजर प्रयोग भएका छन्। २०२४ देखि नै सो क्षेत्रमा नाला रहेको र १० वर्षदेखि पुरेर सडक बनाउने काम भएको स्थानीयले बताएका छन्। अहिले आएर उपमहानगरले नाला खाली गर्ने काम गर्नु सहि कार्य भएको स्थानीय चन्द्रपाल रावतले बताए। ‘यो ठाउँमा हामीले २०२४ सालमै नाला देखाका हौँ, कैलाली नालामा बाँध बाँधेर यहीँ नाला हुँदै पानी ल्याएर रोपाई गथ्र्यौ,’ उनले भने, ‘१० वर्षदेखि नाला पुर्ने काम भएको थियो।

अहिले खाली गर्ने काम एकदम राम्रो हो। नाला खनेर माथि स्ल्याव हाले हिड्न पनि सजिलो हुने थियो।’ वडा नम्बर ३ र २ को तिल्केतालबाट बग्ने पानी फनपार्क अगाडिबाट हुलाकी सडक हुँदै मोहना नदीमा पुग्ने नाला मिचेर सडक बनाइएको छ। २०२१ सालको नक्सा हेरेर खोलानालाको अतिक्रमण हटाउने काम सोमवारबाट थालिएको धनगढी उपमहानगरपालिकाका नापी शाखा प्रमुख भुवन शाहीले बताए।

‘२०२१ सालको नक्साअनुसार खोलानालाको अतिक्रमण हटाउन फेरि सुरू भएको छ,’ उनले भने, ‘वडा नम्बर २ र ३ को बढी ढुबान हुने क्षेत्रबाट काम थालिएको छ।’ खोलानाला, नहर, कुलो र तालमा भएको अतिक्रमणले धनगढी उपमहानगरको वडा नम्बर १ देखि ८ सम्म विभिन्न बस्ती र टोलमा डुबान हुने गरेको छ।

डुबानको समस्या दीर्घकालसम्म समाधान होस् भनेर उपमहानगरपालिकाले आगामी चार वर्षसम्म नै अभियान चलाउने नगरप्रमुख गोपाल हमालले बताए।  ‘हामीले पाँच वर्ष नै अतिक्रमण हटाउन काम गर्ने भनेका थियौँ,’ उनले भने, ‘वर्सातको कारण रोकिएको अतिक्रमण हटाउने काम फेरि सुरू भएको छ। यो काम बाँकी चार वर्षसम्म चल्ने छ।’

धनगढी उपमहानगरपालिकाले नगर विकासले दर्ता गरेका सार्वजनिक ताल, खोलानाला र नहरको लालपुर्जा बदर गर्ने प्रक्रिया थाल्ने बताएको छ। खोलानाला, ताल क्षेत्र र तिनको तोकिएको सेटव्याकसम्म कुनै पनि संरचना नबनाउन नगरप्रमुख हमालले आग्रह गरेका छन्। ‘कानुनमा सार्वजनिक जग्गा व्यक्तिको नहुने उल्लेख छ।

खोलानाला, ताल, कुलो, नहर र मन्दिर जस्ता सार्वजनिक क्षेत्रको जग्गा व्यक्तिको कहिल्यै पनि बनाउन सकिन्न,’ उनले भने, ‘सार्वजनिक क्षेत्रको सेटव्याकभित्र पनि व्यक्तिगत संरचना बनाउन मिल्दैन।’ खोलानाला, ताल नहर तथा कुलोमा भएको अतिक्रमण हटाउन आफ्नो पाँच वर्षे कार्यकालको बाँकी अवधिमा निरन्तर काम गर्ने नगरप्रमुख हमालले बताए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस