सुदूर नेपाललाई विश्वसँग जोड्दै

एलपीएलमा लिग चरणका खेल सम्पन्न, सैनिकको सान्त्वना जित

२०७९ फाल्गुन २, ०४:३७ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा लिग चरणका खेल सम्पन्न भएका छन्।

विद्यालय स्तरीय १९ वर्ष मुनीको राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता एलपीएलमा लिग चरणका खेल सम्पन्न भएका हुन्। मंगलवारको लिग चरणको अन्तिम खेलमा सैनिक आवासीय महाविद्यालय तेघरी विजयी भएको छ। सैनिकले शारदा विद्या निकेतन धनगढीमाथि सान्त्वना जित दर्ता गरेको हो। 

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सैनिकले दिएको १२५ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिङ गर्दै ७ विकेट क्षतिमा ११६ रन बनायो। शारदाको ब्याटिङमा ओपनर हृदय बिठारीले सर्वाधिक ३६ रन बनाए । गोविन्द बिस्टले १६ तथा कृष्ण भट्टले १५ रन बनाए। सैनिकका बलर सागर चन्द र रवीन्द्र कार्कीले २/२ विकेट तथा सुनिल चन्द, निशान्त भट्ट र सन्दीप बिस्टले १/१ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनायो। सैनिकका ओपनिंग ब्याटर सन्दीप बिस्टले सर्वाधिक ५९ रन बनाए जुन क्रममा उनले ४५ बलमा ८ चौका प्रहार गरे। उनी प्लेयर अफ द म्याच घोषित भए। विशाल ऐरले २३ रन बनाए। शारदाको बलिङतर्फ नाग राज सिंह, अशोक धामी र आयुष खड्काले २/२ विकेट लिए। 

प्रतियोगिता अन्तर्गत दुवै सेमिफाइनल खेल बिहीवार हुनेछन्। पहिलो सेमिफाइनलमा लिटल फ्लावर स्कुल धनगढी र लोटस आई स्कुल अत्तरियाबिच तथा दोस्रो सेमिफाइनलमा सत्यवती एकेडेमी अत्तरिया र नव बाल बाटिका बौनियाबिच हुनेछ। फाइनल खेल शनिवार हुने छ। 

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस