सुदूरपश्चिममा ‘सिजेरियन’ प्रक्रियाबाट बच्चा पाउने बढे, यस्ता छन् मुख्य कारण
धनगढीः अहिले सिजेरियन डेलिभरीको प्रचलन बढ्दो छ। विभिन्न कारणले दम्पतीहरु यसतर्फ आकर्षित भएका छन्।
एक त यसरी बच्चा जन्माउँदा प्रसव पीडा कम हुने उनीहरूको बुझाइ छ। यसैगरी अहिले बच्चालाई तिथि, मिति हेराएर जन्माउने प्रवृत्ति छ। आफूले चाहेको तिथि, मितिमा जन्माउन पनि सिजेरियन गरिएको पाइन्छ।
दोस्रो बच्चा पाँच वर्षपछि
पहिलो पटक सिजेरियनबाट बच्चा जन्माएकाले दोस्रो बच्चाको योजना पाँच वर्षपछि गर्नु उचित हुन्छ। पहिलो पटक सिजेरियन गरेको घाउ पूर्ण रूपमा निको हुन पाँच वर्ष लाग्छ। यो अवधिमा पहिलो बच्चा पनि हुर्किसकेको हुन्छ। त्यसैले दोस्रो बच्चाको योजना पाँच वर्षपछि बनाउनुपर्छ।
दोस्रो पटक पनि सिजेरियन?
पहिलो बच्चा सिजेरियनबाट जन्मेको छ र केही कारणबस दोस्रो बच्चा पनि सिजेरियन गर्नुपरेमा त्यसको गम्भीर समस्या त केही देखिंदैन। तर पहिलो बच्चा सिजेरियन गर्दा पेटमा घाउ हुन्छ, दोस्रो बच्चा जन्माउँदा पनि घाउ बनाउने भएकाले केही सामान्य समस्या भने देखिन सक्छ।
सुदूरपश्चिममा सिजेरियन गराउने बढ्दै
सामान्य प्रकृतिले सुत्केरी हुन नसक्ने अवस्था आएमा मात्रै शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने हो। तर, सुदूरपश्चिममा भने विभिन्न कारणले सिजेरियन सेक्सन गरी बच्चा जन्माउने प्रवित्त बढ्दो छ। हरेक वर्ष शल्यक्रिया (सिजेरियन) गरेर बच्चा जन्माउनेको संख्या बढ्दो छ। सुदूरपश्चिममा हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ।
संस्थागत सुत्केरी हुने संख्या बढेसँगै शल्यक्रिया गरेर बच्चा जन्माउने दर पनि बढेको छ। प्रदेशमा आर्थिक वर्ष २०७४÷७५ मा संस्थागत सुत्करी गराउनेको संख्या ४४ हजार ३२२ थियो। यो वर्ष २ हजार ९४५ गर्भवतीले शल्यक्रिया गरेर बच्चा जन्माएका छन्। जुन ६ दशमलव ६४ प्रतिशत हो। यस्तै, २०७५÷७६ मा संस्थागत सुत्केरी हुनेको संख्या ४५ हजार २९३ छ। यो वर्ष २ हजार ९६९ महिलाले शल्यक्रिया गरेर बच्चा जन्माएका छन्। यो ६ दशमलव ६ प्रतिशत हो।
आर्थिक वर्ष २०७६÷७७ मा ४५ हजार ३७८ ले संस्थागत सुत्केरी भएका छन्। यो वर्ष २ हजार ९५७ गर्भवतीको शल्यक्रिया गरिएको छ। जुन ६ दशकलव ५ प्रतिशत हो। आर्थिक वर्ष २०७७÷७८ मा ५२ हजार ६३४ जना संस्थागत सुत्केरी हुँदा ३ हजार ५७४ को शल्यक्रिया गरिएको छ। यो कुल सुत्केरीको ६ दशमलव ७९ प्रतिशत हो।
यस्तै आर्थिक वर्ष २०७८÷७९ मा ४७ हजार २०६ जनाको संस्थागत सुत्केरी भएको छ। यो वर्ष ३ हजार ५२५ जनाको शल्यक्रिया गरिएको छ, जुन ७ दशमलव ४७ प्रतिशत हो। सुदूरपश्चिममा शल्यक्रिया गरेर सुत्केरी हुने दर सामान्य नै रहेको स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले बताए।
‘सुदूरपश्चिममा शल्यक्रिया गरेर सुत्केरी हुने दर सामान्य नै हो,’ उनले भने, ‘कुल सुत्केरीमा १० प्रतिशतसम्मलाई शल्यक्रिया गर्ने अवस्था आउनुलाई अन्यथा भन्न सकिन्न। १५ प्रतिशतभन्दा बढी भयो भने कारण खोज्नुपर्ने हुन्छ।’
चिकित्सकको सल्लाहमै सिजेरियन
संस्थागत सुत्केरी गराउनेको संख्या बढेसँगै शल्यक्रिया गर्नेको संख्या पनि बढेको पाइएको छ। अस्पतालमा गर्भवती महिला पुग्नासाथ शल्यक्रिया गर्न सल्लाह दिने गरेको सर्वसाधारण बताउँछन्। ‘अस्पतालमा बच्चा पाउने महिला पुग्ने बित्तिकै समस्या छ शल्यक्रिया गर्नुपर्छ भन्ने सल्लाह दिने गरिन्छ। सामान्य सुत्केरीभन्दा शल्यक्रिया गर्न मन पर्नुकोे कारण बुझ्न सकिएको छैन,’ धनगढीका विमल जोशीले भने।
अस्पताल पुग्दा स्वास्थ्यकर्मीले शल्यक्रिया गर्ने बताउने गरेका छन् भने केही महिलाले भने सामान्य सुत्केरी गर्न भन्दा शल्यक्रिया गर्नु सहज ठान्ने गर्दा पनि शल्यक्रिया गराउनेको दर बढेको अनुमान छ। अवस्था हेरेर मात्रै चिकित्सकले शल्यक्रिया गर्ने गरेको, स्वास्थ्यकर्मीले रहरले शल्यक्रिया गराउने भन्ने कुरा गलत भएको स्वास्थ्य निर्देशक जोशीले बताए।
‘अवस्था हेरेर शल्यक्रिया गर्ने नगर्ने भन्ने हुन्छ। गर्भवतीको अवस्था विश्लेषण गरेर मात्रै शल्यक्रिया गरिन्छ। उहाँहरू निरन्तर चेकजाँचकै हुन्छन। जटिल अवस्थमा मात्रै शल्यक्रिया गरिन्छ,’ निर्देशक जोशीले बताए।
नजन्मिदै बच्चा मर्नेदर रोकिएन
स्वास्थ्य संस्था र अस्पतालमा गएर बच्चा जन्माउनु सुरक्षित मानिन्छ। सरकारले पनि संस्थागत सुत्केरी गराउन प्रेरित गर्दै आएको छ। संस्थागत सुत्केरी गराउने संख्या बढे पनि बच्चा नजन्मिदै मर्ने दरमा भने कमि आएको छैन। सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७४÷७५ मा ६ सय गर्भवतीले मृत शिशु जन्माएका थिए।
आर्थिक वर्ष २०७५÷७६ मा ६०३ गर्भवतीले मृत शिशु जन्माउँदा २०७६÷७७ मा ५८३ महिलाले मृत शिशुको जन्माएका छन्। यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा ८३० र आर्थिक वर्ष २०७८÷७९ मा ७१० गर्भवतीले मृत शिशु जन्माएको तथ्याङ्क छ। शिशुको जन्मपूर्व नै मृत्यु हुने संख्यामा सुधार गर्न नसिएको स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले बताए। ‘संस्थागत सुत्केरी हुने संख्या बढेको छ तर स्टिल वर्थ र नियोनाटल मोर्टालिटी रेट घट्न सकेको छैन,’ उनले भने, ‘स्टिल वर्थ र नियोनाटल मोर्टालिटी रेट घटाउन सरकार प्रयासरत छ,’ प्रदेशभर आधारभूत तथा मातृशिशु स्वास्थ्य सेवाको पहुँच विस्तार भएको सरकारी तथ्याङ्क छ।