सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागुऔषधको समस्या विकराल बन्दै, नियन्त्रणमा जुट्न आग्रह

२०७९ फाल्गुन १, ०७:४० खबर संवाददाता

धनगढीः धनगढीको शारदा माध्यमिक विद्यालयमा लागुऔषध विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ। आइतवार धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा माध्यमिक बिद्यालयमा सचेतना कार्यक्रम सम्पन्न भएको हो।

कटक भण्डारी फाउण्डेशनको आयोजना तथा धनगढी उपमहानगरपालिका वडा नम्बर २ को सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो। पछिल्लो समय लागुऔषध दुर्व्यसनमा फस्ने युवायुवतीको संख्या बढ्दै गएको परिवेशलाई मध्यनजर गर्दै फाउण्डेशनले सचेतनामुलक कार्यक्रमको आयोजना गरेको जनाएको छ। फाउण्डेशनका अध्यक्ष गणेश भण्डारीले दिनप्रतिदिन लागुऔषध प्रयोगकर्ता पक्राउ परेको देख्दा भविष्यका कर्णधारको जीवन अन्धकार बन्दै गएको आभास भएको बताए।

प्रहरी प्रशासनले पक्राउ गर्ने र कारबाही गरेर मात्रै केही हुँदैन उनले भने ’पक्राउ गर्ने अनि केही महिना सजाय दिएर सुध्रिनेवाला छैन समाज, हामीले कुलतमा फसिसकेपछि कारबाहीमा केन्द्रित हुनुभन्दा कुलतमा फस्नै नदिन यस्ता कार्यक्रम आयोजना गर्नुपर्छ, अनी मात्रै लागुऔषधको बिगबिगीमा कमी आउँछ, यस्ता कार्यक्रम आयोजना गर्नमा सबैको सहकार्य आवश्यक छ ।’

कार्यक्रममा लागु औषध दु दुर्व्यसनमा परेकाहरुलाई स्याहार गर्दै आएको सन्देस नेपालका प्रमुख पवनकुमार शेरचनले लागुऔषध प्रयोगकर्ताको अवस्था बारे प्रकाश पारेका थिए । उनले आफू पनि बिगतमा कुलतको सिकार बनेको चर्चा गर्दै यसबाट हुने हुने समस्याका विषयमा बताएका थिए।

'लागुऔषधको कुलतमा फसे मान्छेको कुनै व्यक्तिगत छवी नरहने, मरेतूल्य जीवन हुन्छ। लागुऔषधको कुलतमा नफस्न म सबैलाई आग्रह गर्छु,’ उनले भने 'परिवारको इज्जत र आफ्नो स्वास्थ्यका लागि भएपनि लागुऔषधको कुलतमा नफस्न म आग्रह गर्छु, यसको कुलतमा फसिसकेपछि कि सुध्रिनुपर्छ कित मर्नुपर्छ। सुध्रिने निकै कम हुन्छन् त्यस कारण यसको कुलतमै नफस्न म आग्रह गर्दछु ।' शेरचनले लागुऔषधबाट बच्न नो भन्न सक्नुपर्ने बताएका छन्।

शारदा माध्यमिक विद्यालयमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, प्रहरी निरीक्षक सरस्वती अधिकारी, धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ देखि ५  सम्मकाम अध्यक्षहरू, ओम शान्ति धनगढीका हेमराज भण्डारी, शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर सिंहले  लागुऔषधबाट बच्न व्यक्तिले अपनाउनुपर्ने सावधानीबारे प्रकाश पारेका थिए।

कमेन्ट लोड गर्नुस