सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय समूहको गोली प्रहारबाट एक जना घाइते

२०७९ माघ २५, ०९:२४

धनगढीः सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढामा बुधवार साँझ भारतीयहरु प्रवेश गरी गोली प्रहार गरेका छन्।

३०–४० जनाको समूहमा आएका भारतीय नागरिकले ५–६ राउन्ड गोली फायरिङ गरेको सुरक्षा स्रोतले जनाएको छ। छर्रा लागेर स्थानीय महेन्द्र पासमान घाइते भएका छन्। उनको घुँडामा छर्रा लागेको छ । 

मध्य कोसीमा रहेको गोबरगाढाबस्ती भारतीय सीमासित जोडिएको छ। सो बस्तीका गाईभैंसी चोरी गरी भारततर्फ लाने गरेकोमा पछिल्लो समय स्थानीय बिन्देश्वर रामको भैँसी चोरी भएको घटनामा स्थानीय बासिन्दाहरुले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई गोबरगाढामा राखेका थिए।

ती भारतीय नागरिकलाई छुटाउन ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकहरुले बस्तीमा फायरिङ गर्दै स्थानीयलाई कुटपिटसमेत गरेको वडाध्यक्ष कुशेश्वर यादवले जानकारी दिए। बन्दुक र घरेलु हातहतियारसहित आएका भारतीयहरुले भैँसी चोरेको आरोपमा गोबरगाढावासीले नियन्त्रणमा राखेकालाई लगेको वडाध्यक्ष यादवले बताए।

सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेलका अनुसार गोबरगाढामा भारतीयहरु आएर गोली प्रहार गरेको सूचना आएको र त्यसतर्फ नेपाल तथा सशस्त्र प्रहरी परिचालित भइसकेका छन्। कान्तिपुर
 

कमेन्ट लोड गर्नुस