सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको शिवनाथमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने

२०८२ जेठ १९, ०७:०२ खबर संवाददाता

बैतडीः शिवनाथ गाउँपालिकामा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन्। प्राविधिक धारतर्फ उच्चशिक्षा अध्ययन गर्ने आर्थिक रुपले विपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने छ। 

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले भने, 'गाउँपालिकाभित्रका विपन्न छात्रछात्राको प्राविधिक शिक्षामा पहुँच पु¥याउने उद्देश्यले गाउँपालिकाले हरेक वर्ष छात्रवृत्ति दिँदै आएको छ। यो वर्ष पनि छात्रवृत्ति प्रदान गर्नका लागि सूचना आह्वान  गरेका छौँ।'

गत वर्षदेखि चिकित्सा, इन्जिनियर तथा प्राविधिक विषयमा विपन्न छात्रछात्राको पहुँच अभिवृद्धिका लागि छात्रवृत्ति दिने गरिएको छ। यस वर्ष पनि छात्रवृत्ति प्रदान गर्नका लागि गाउँपालिकाले सूचना आह्वान गरेको छ। प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गरिरहेका र शिवनाथ गाउँपालिकाभित्र घर भएका विपन्न छात्रछात्राका लागि आवेदन आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए। 

शिवनाथ गाउँपालिकाले शैक्षिक छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८१ निर्माण गरेको र सोही अनुसार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने जनाएको छ। छात्रवृत्तिका लागि गाउँपालिकाले यस वर्ष रु चार लाख विनियोजन गरेको छ। गत वर्ष छात्रवृत्तिका लागि पाँच लाख विनियोजन गरिएको थियो। छात्रवृत्तिका लागि आवेदन परेका विद्यार्थीमध्ये छनोट समितिले छनोट गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने गाउँपालिकाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस