सुदूर नेपाललाई विश्वसँग जोड्दै

टर्की भूकम्प अपडेट : ज्यान गुमाउनेको सङ्ख्या सात हजार नाघ्यो

२०७९ माघ २५, ०७:३१ खबर संवाददाता

टर्कीमा सोमवार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या सात हजार नाघेको छ। अहिलेसम्म टर्कीमा पाँच हजार ८ सय ९४ जना र सिरियामा एक हजार ९ सय ३२  जना गरी सात हजार ८ सय २६ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ।

टर्कीमा आठ हजार भन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरेको र तीन लाख ८० हजार भन्दा धेरै मानिस घरबार विहीन भएर सरकारी शिविरमा रहेको जनाएको छ। दुवै देशमा गरी २० हजार भन्दा धेरै मानिस घाइते भएको विवरण प्राप्त भएको र अस्पतालमा रहेका घाइतेहरुको विवरण सङ्कलन भैरहेको उद्धारमा संलग्न अधिकारीहरुले बताएका छन्।

दुवै देशमा गरेर हजारौँ साना घर र ७ हजार वटा ठूला भवन भत्किएको खबरमा उल्लेख छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिएका छन्।

मान्छे खोज्ने कुकुर र विशेष उपकरणसहित पुगेका उनीहरुले उद्दारको काम गर्दैछन्। अमेरिका, बेलायत, चीन, रुस, भारत, पाकिस्तान, जापान, इराक, इरान, अष्ट्रेलिया, न्युजिल्याण्ड, ग्रिस लगायतका देशबाट अत्यावश्यक राहतका सामग्री टर्की र सिरियामा पुगेका छन्। अत्याधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्दार र राहतमा कठिनाइ भइरहेको खबरमा उल्लेख छ। 

कमेन्ट लोड गर्नुस